२०८१ जेठ ६ , आइतवार

बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा

सुनाखरी न्युज/ काठमाडौं ।
पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो ।

आर्मीले जितका लागि पाएको एक सय २८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्न सफल भयो । टस जितेर बयाटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै सात विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो ।

बागमतीका प्रतीक श्रेष्ठले ३५ बलामा चार छक्का र तीन चौकाको मद्दतमा अर्थशतकको योगदान दिए पनि टोलीलाई फाइनल पुर्याउन असफल हुनुभयो । यसैगरी कप्तान सन्दीप लामिछानले १९, रीत गौतमले १४, इशान पाण्डेले १२ रन बनाउनुभयो । ‘प्लेयर अफ दी म्याच’ घोषित आर्मीका सहाव आलमले चार तथा सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिनुभयो ।

आर्मीले विजयी लक्ष्य १५ ओभरमा छ विकेट गुमाएर पूरा गर्न सफल भयो । आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रनको योगदान दिनुभयो । कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाउनुभयो । बागमतीका सन्दीप लामिछानले दुई तथा प्रतीश जिसी, इशान पाण्डे, सोनु देवकोटा रीत गौतमले समान एक–एक विकेट लिनुभयो । सुजन थपलियाले २१ र मनिष थापाले १६ रनको योगदान दिनुभयो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलको दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशकाबीच हुँदैछ । आर्मीले यी दुई टोलीबीचको विजेतासँग फाइनल खेल खेल्नेछ ।

यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । रासस