२०८१ बैशाख १६ , आइतवार

कोप–२८ सम्मेलन आजदेखि

Capture

सुनाखरी न्युज/ काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।

मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो सम्मेलन हुँदैछ । जलवायु सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको नराम्रो प्रभावलाई रोक्नका लागि एक निर्णायक क्षण हो । कोप–२८ को अध्यक्षता युएईले गरेको छ र यस वर्षको अध्यक्षमा डा सुल्तान अल जाबेर रहनुभएको छ ।

सम्मेलनको उद्घाट्न केहीबेरमा भव्य समारोहबीच हुँदैछ । सम्मेलनका लागि एक सय ६० भन्दा बढी मुलुकका नेता दुबईमा सहभागी हुने बताइएको छ । सम्मेलनको उद्घाटनका अवसरमा युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले डिसेम्बर १ र २ तारिखमा आयोजना गर्नुहुने विश्व जलवायु कार्य शिखर सम्मेलनमा विश्वभरबाट सहभागी राज्य÷सरकार प्रमुखको सहभागिता रहनेछ ।

सम्मेलनले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने र सन् २०५० सम्ममा हरित ग्यास खुद शून्य उत्सर्जन हासिल गर्ने उपायमा सहमति गरेर जलवायु सङ्कटलाई सम्बोधन गर्ने लक्ष्य छ । सम्मेलनमा विश्वभरका मुलुकका प्रतिनिधि, व्यापारीक नेता, युवा, जलवायु वैज्ञानिक, आदिवासी जनजाति, पत्रकार, विभिन्न विज्ञ, सरोकारवालासहित ७० हजारभन्दा बढीको उपस्थितिको अपेक्षा गरिएको छ ।

यस सम्मेलनले कार्बन उत्सर्जन घटाउने दायित्वबारे छलफल, जलवायु अनुकूलन र राष्ट्रिय अनुकूलन योजनाबारे छलफल, पेरिस सम्झौताको कार्यान्वयन अवस्थाबारे समीक्षा, जलवायुजन्य हानि र नोक्सानी साथै कोष कार्यान्वयन, जलवायु वित्तसम्बन्धी छलफल, प्रविधि विकास, विस्तार र कार्यान्वयनलगायत विषयमा छलफल अगाडि बढाउने योजना प्रस्तुत गरेको छ ।

यसैगरी महासन्धिअन्तर्गत रहेको क्षमता विकास, अल्पविकसित राष्ट्रहरूसँग सम्बन्धित विषय, जलवायु परिवर्तन र लैङ्गिक सम्बन्धमा, पेरिस सम्झौताको दफा ६ र कार्बन व्यापार, कार्यान्वयनका प्रावधानको प्रभाव, प्रशासनिक, वित्तीय र संस्थागत विषय, जलवायु परिवर्तन र पर्वतीय सवाललगायत विषयमा छलफल अगाडि बढाइने युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल दुबईमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ । स्थानीय समयानुसार उहाँ गए राति करिब १ः३० बजे दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

दुबई विमानस्थलमा प्रधानमन्त्री दाहाललाई युएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री, नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत युएईस्थित दूतावासका अधिकारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले आज राजधानी आबुधाबीस्थित नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ । उहाँले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनुहुनेछ ।

यस सम्मेलनमा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानि तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने बताइएको छ ।

यसैगरी सम्मेलनमा लैंगिक, स्थानीय समुदाय, आदिवासी, युवाको चासो र सरोकार, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि उक्त विषयलाई समेटेर ‘राष्ट्रिय स्थिति पत्र’ तयार गरेको छ । रासस