२०८१ बैशाख २३ , आइतवार

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

405219164_672364648359395_400388881744917279_n
सुनाखरी न्युज/ काठमाडौं ।  अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेष्ट फर योङ पुलिस लिडर्स प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।
यही मङ्सिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका एक सय ९५ सदस्य राष्ट्रमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।
नेपालको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेट्स सेभ द प्लानेट–इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो । भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्या समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न संयुक्त राष्ट्रसङ्घको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको   छ ।
May be an image of 5 people, dais and text that says 'VIENNA 2023 91A REUN INTERPOL INTERPOL INTERPOL'
इन्टरपोल प्रेसिडेन्ट मेजर जेनेरल डा अहमेद नासेर रैसीबाट नेपाल प्रहरीलाई सम्मानस्वरूप प्रमाणपत्र प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  इन्टरपोल स्थापनाको एक सय वर्षलाई विशेष उत्सवका रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरद्वारा ‘कानुन कार्यान्वयन तथा सुरक्षा सुनिश्चित गर्न इन्टरपोलको उपयोगिता’ विषयमा आधारित रही उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रलाई आह्वान गरिएको थियो ।
महासभामा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी छ ।रासस