२०८१ बैशाख १५ , शनिवार

सुकुम्बासी समस्या समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

PM Dahal

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेकपा (माओवादी केन्द्र) को बेवसाइट सार्वजनिक गर्दै प्रधामन्त्री दाहालले सुकुम्वासी समस्या हल हुने दाबी गर्नुभयो । उहाँले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ”, प्रधानमन्त्रीले भन्नुभयो । सो ऐनको संशोधनपछि विकास निर्माण र लालपूर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । सरकारका तर्फबाट देश र जनताको पक्षमा राम्रो काम गर्ने इमान्दार प्रयास भएको बताउँदै दिँदै प्रधानमन्त्रीले मिटरब्याज पीडितको समस्या समाधान गर्न प्रयास गरिएको, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति, भूमाफियालाई कारबाही, नक्कली भूटानी शरणार्थी प्रकरणमा हस्तक्षेप र तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार भएको दाबी गर्नुभयो ।

नेपालको राष्ट्रिय पहिचानलाई सुदृढ गर्न सरकार गम्भीर रुपमा लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, इटालीलगायतको भ्रमण सहयोगी बनेको स्पष्ट पार्नुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपाल डरलाग्दो स्थितिमा पुगेकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको र संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गर्नुभएको उल्लेख गर्नुभयो । विकसित राष्ट्रले नेपाललगायत देशलाई उपलब्ध गराउने भनेर यसअघि जनाएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएकाले यस पटकको कोप–२८ मा त्यसबारेमा गम्भीर ध्यानाकर्षण गराइने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले सरकारले बुढीगण्डकी, कर्णाली चिसापानीलगायत ठूला आयोजनाको काम अगाडि बढाएको सो अवसरमा जानकारी दिनुभयो । बुढीगण्डकी आयोजनाका लागि मात्रै पूर्वाधार करमार्फत उठ्ने रकम जम्मा गर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ । कर्णाली चिसापानी आयोजनाको अध्ययन अगाडि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइएको प्रधानमन्त्रीको कथन छ । सरकारले जटिलताकाबीचमा पनि विकास निर्माणको कामलाई गति दिने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिइएको भए पनि कार्यान्वयनमा आउन नसकेको सन्दर्भमा मन्त्रिपरिषद्बाट कार्यान्वयनमा लगिएको जानकारी दिँदै प्रधानमन्त्रीले त्यसबाट काठमाडौँ उपत्यकाका नेवार समुदायका अगुवाले सरकारलाई धन्यवाद दिएको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको सही प्रयोग गरेर मात्रै पार्टीलाई जनताका माझ थप लोकप्रिय बनाउन सकिने बताउनुभयो । उहाँले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिलाई सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अगाडि लैजाने बताउनुभयो । सामाजिक सद्भाव खल्बलिने अवस्था आएकाले सरकारले सामाजिक सञ्जाल निर्देशिका जारी गरेर कार्यान्वयन गरिएको उहाँले स्पष्ट पार्नुभयो । रासस