२०८१ बैशाख १७ , सोमवार

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउँदै ‘ठूली दिदी’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
भौगोलिक विकटताका कारण बागलुङका ग्रामीण क्षेत्रमा थुप्रै बालबालिका विद्यालय जानबाट वञ्चित छन् । कतिपय ठाउँमा त गरिबी र अशिक्षाका कारण विद्यालय जाँदैनन् । विद्यालय जाने पनि बीचमै पढाइ छोडेर बस्ने गर्छन् ।

विद्यालयभन्दा बाहिर रहेका यस्ता बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन काठेखोला गाउँपालिकाले भने ‘ठूली दिदी कार्यक्रम’ सञ्चालन गरेको छ । विवाइसी बागलुङसँगको सहकार्यमा सञ्चालन भएको ‘ठूली दिदी कार्यक्रम’ हाल पालिकाको २७ विद्यालयमा सञ्चालन भइरहेको छ । ठूली दिदी अर्थात् महिला स्वम्सेविका । स्थानीय महिलालाई पारिश्रमिक र तालिम दिई ठूली दिदीका रुपमा गाउँ–गाउँमा खटाइएको छ ।

उहाँहरुले विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने काम गर्छन् । गाउँपालिकाले समुदायमा रहेका कोही पनि बालबालिका शिक्षा लिनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले ‘ठूली दिदी कार्यक्रम’ सञ्चालन गरेको हो । कक्षा १२ पास गरेका ठूली दिदी गाउँ–गाउँमा पुग्ने बालबालिका, परिवार र उनीहरुको अवस्था बुझ्ने काम गर्छन् भने विद्यालयमा बालबालिका के कारण पुग्न सकेका छैनन् भन्ने विषयमा अध्ययन गर्ने गर्छन् ।

बालबालिकालाई पढाइतर्फ आकर्षित गर्नका लागि विद्यालयसँग सहकार्यसमेत गर्ने गर्छन् । खास गरी प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका विद्यालय जान नमान्ने, पढ्दा पढ्दै छोड्ने विद्यार्थीलाई परामर्श दिइ पढाइतर्फ अभिरुचि बढाउने काम ठूली दिदीहरुले गर्ने गर्छन् । विसं २०७८ मङ्सिर १४ देखि सुरु भएको ‘ठूली दिदी कार्यक्रम’ अहिले प्रभावकारी बन्दै गएको छ । यस वर्षदेखि गाउँपालिकाले सबै विद्यालयमा ठूली दिदी नियुक्त गरी खटाउने भएको छ । गाउँपालिकालमा ५० वटा विद्यालय सञ्चालनमा छन् । ‘ठूली दिदी कार्यक्रम’ सञ्चालन भएपछि अहिले कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नभएको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख रमा उचैले जानकारी दिनुभयो ।

विद्यालय शिक्षामा हरेक बालबालिकाको पहुँच अपरिहार्य रहेको भन्दै रहेक वर्ष शिक्षा सुधारमा गाउँपालिकाले नयाँ–नयाँ काम गर्दै आएको उहाँले बताउनुभयो । “ठूली दिदीका रुपमा अहिले सत्ताइस विद्यालयमा स्वम्सेविका खटाएका छौँ । यसका लागि विवाईसी बागलुङले सहयोग गरेको छ । यस वर्षदेखि सबै विद्यालयमा ठूली दिदी खटाउँछौँ, उहाँहरुले विद्यालयसँग सहकार्य गरेर बालबालिकालाई विद्यालय आउने वातावरण सिर्जना गर्नुहुन्छ”, प्रमुख उचैले भन्नुभयो, “बालबालिका किन विद्यालय आउन सकेका छैनन्, विद्यालयका कारणले हो वा पारिवारिक कारण त्यो बुझेर समस्या समाधान गर्ने र बालबालिकालाई पढ्ने वातावरण तयार गर्ने काम उहाँहरुले गर्नुहुन्छ । ठूली दिदीहरु समुदायमै बढी घुम्ने र बालबालिकाको अवस्था बुझ्न्हुन्छ ।”

काठेखोला गाउँपालिकाका सामाजिक विकास समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष खडक थापाले ‘ठूली दिदी कार्यक्रम’ले समुदाय र विद्यालयलाई जोड्ने पुलको काम गरेको बताउनुभयो ।

पहिले विद्यालय जान नमान्ने बालबालिका अहिले दैनिक आउने गरेको उहाँको भनाइ छ । ‘ठूली दिदी कार्यक्रम’ सञ्चालनमा आएपछि विद्यालय आउने बालबालिकाको सङ्ख्या पनि बढेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “शैक्षिक सुधारका कार्यक्रमसँगै गरिब, विपन्न बालबालिकालाई शिक्षाको पहुँचसँग जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ, सोहीअनुरुप ‘ठूली दिदी कार्यक्रम’ पनि दुई वर्षदेखि कार्यान्वयन गर्दै आएका छौँ, गाउँपालिकाले पनि शिक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको छ, शैक्षिक सुधार पनि हुँदै गएको हुँदा हामी पनि उत्साहित छौँ, हरेक वर्ष नयाँ–नयाँ शैक्षिक योजना बनाएर कार्यान्वयन गर्दै आएका छौँ ।”

विवाईसी बागलुङद्वारा सञ्चालित सिकाइ परियोजना अन्तर्गत जिल्लाको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाकामा कार्यरत सामुदायिक स्वयंसेवी ठूली दिदीहरुलाई तीन दिने पुनर्ताजगी तालिम प्रदान गरिएको छ । ठूली दिदी कार्यक्रम बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका ६० विद्यालयमा सञ्चालन हुँदै आएको छ । जैमिनी नगरपालिकामा पनि यो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ ।रासस