२०८१ जेठ २ , बुधवार

हात्तीसँगै रत्तिँदै माहुते

elephant

सुनाखरी न्युज/ काठमाडौं ।
“यसलाई बर्दियाबाट यहाँ ल्याइएदेखि नै मैले यसको हेरचाह गर्दै आइरहेको छुु । योसँग मेरो बेग्लै सम्बन्ध गाँसिएको छ । मलाई एकछिन् देखेन भने यसले अस्वाभाविक व्यवहार देखाएर मलाई खोज्न थाल्छ ।” यो भनाइ हो माहुते विजय चौधरीको । शुक्रबार बिहान समीर गज नामको हात्तीलाई अँगालोभरी खरले बेरिएको कुची खुवाउँदै विजयले हात्तीसँग गासिएको आफ्नो भावनात्मक सम्बन्धबारे सुनाउनुभयो । उहाँले भन्नुभयो, “सानो छँदा हात्ती मेरो साथी भन्ने फिलिम हेरेको थिएँ । त्यतिबेला जनावर कसरी साथी बन्न सक्छ झैँ लागेको थियो तर यसको पालनपोषण र रेखदेख गर्न थालेदेखि अहिले बुझ्दै छु कि हात्ती साँच्चै साथी बन्नसक्दो रहेछ ।”

विजयका अनुसार समीरले उहाँको सबै कुरा बुझ्छ, सुन्छ र भनेको पनि मान्छ । विगत १४ वर्षदेखि उक्त भाले हात्तीलाई स्याहार्दै आइरहनुभएका ३८ वर्षीय विजयले हात्तीभन्दा नजिक अरु कोही नभएको बताउनुभयो । “यसको रेखदेख गर्न थालेदेखि त मलाई हिजोआज कसैको माया पनि लाग्दैन र सम्झना पनि आउँदैन । साथीभाइसँगको सम्बन्ध यसको अगाडि फिका भएको छ”, उहाँले भन्नुभयो, “अहिले ऊ नै मेरो सबैथोक भएको छ ।”

विजयले सुनाउनुभयो, “एकैछिन् कामले हात्तीसार छाडेर बजार जाँदा पनि उसले के गरी रहेको होला,मलाई खोजी रहेको होला, खुट्टाले भूँइ कोतरेर धुलो उडाइरहेको छ होला र म आउने बाटोतिर आँखा हेरिरहेको होला भन्नेजस्ता कुराले मन अतालिन्छ अनि हतारहतार गरी फर्किहाल्छु”, उहाँले भन्नुभयो, “यो अरु हात्ती जस्तो रिसाहा पनि छैन । ज्ञानी छ । त्यसैले आफूभन्दा पनि धेरै यसको माया लाग्छ ।”

विजयले समीरलाई मनपर्ने खाने कुरा कुची (आहार) हरेक बिहान र साँझमा खुवाउने गर्नुहुन्छ । कुचीमा धान, भेली र नुनलाई बाहिरबाट खरले बेरेर सानोसानो डल्लो बनाइन्छ र हात्तीलाई खुवाइन्छ ।

समीरले दिनमा १५ किलो धान खान्छ । उक्त धानमा डेढ किलो भेली र २५ ग्राम नुनलाई सानो सानो थुप्रोमा मोली डल्लो बनाएर खरले बेरेपछि हात्तिलाई खान सहज हुने विजयको भनाइ थियो । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकलाई हात्तीबाट सफारी गराउने उद्देश्यले समीरलाई बर्दियाबाट बाँके निकुञ्जमा हस्तान्तरण गरिएदेखि नै विजयले यसको रेखदेख गर्दै आइरहनुभएको छ ।

आफूले लामो समयदेखि रेखदेख गर्दै आइरहेको चमचमकली नामक पोथी हात्तिको पनि उत्तिकै माया लाग्ने विजयले बताउनुभयो । अर्का महुते गणेश चौधरीले पनि पोथी हात्ती भएकाले चमचमकलीले हात्तीसारमा भएको अन्य तीन हात्तीको तुलनामा निकै नै अनुशासित शान्त स्वभावको भएको बताउनुभयो । “कुनैकुनै पोथी जातका हात्ती पनि रिसाहा नै हुने गर्दछन् तर चमचमकली भने निकै शान्त र ज्ञानी छ”, उहाँले भन्नुभयो ।

चमचमकलीलाई चितवन राष्ट्रिय निकुञ्जबाट बाँके निकुञ्जमा २०७३ सालमा ल्याइएको हो । ल्याइएदेखि नैे गणेशले यसको स्याहार गर्दै आइरहनुभएको छ । गणेशसँगै चमचमकलीको रेखदेखमा अन्य दुई माहुतले पनि मिलेर गर्ने गर्नुहुन्छ ।

“एउटा हात्तीलाई तीन माहुुतेले रेखदेख गर्ने गर्छौं । हामी पालैपालो हात्तीलाई खुवाउन बिहानै ५ बजे सामुदायिक वन र निकुञ्जमा घाँस काट्न जान्छौँ र ७ बजे फर्किएर कुची (खान) तयार गरी हात्ती बस्ने ठाउँ सफा गर्र्दछौँ”, माहुते गणेशले भन्नुभयो, “एकाबिहानैको काम सकिएपछि हामी फेरि ९ः३० बजेतिर हात्ती चराउन सामुदायिक वनमा र निकुञ्जका जङ्गलतिर जान्छौँ ।”

बाँके राष्ट्रिय निकुञ्जको खड्गवार हात्तीसारमा चार वटा हात्ती राखिएका छन् भने बुच्चापुर हात्तीसारमा दुई वटा हात्ती राखिएको खड्कवार हात्तीसारका नायब सुब्बा पुष्पराज कुमालले बताउनुभयो । उहाँका अनुसार बर्दियाबाट ल्याइएका हात्तीहरूलाई खड्गबार हात्तीसारमा एकैठाउँमा राखिएको छ भने चितवनबाट ल्याइएका हात्तीहरूलाई बुच्चापुरको हात्तीसारमा राखिएको छ ।

बर्दियाबाट तीनवटा भाले हात्तीसँगै एउटा पोथी हात्ती गरी चार वटा हात्ती ल्याइएको छ भने चितवनबाट चमचमकली र सौराहगज नाम गरिएका दुई वटा हात्तीलाई सफारीका लागि ल्याइएको नायब सुब्बा पुष्प राजकुमालले बताउनुभयो । उहाँका अनुसार बुच्चापुर हात्तीसारमा रेञ्जरगज र शान्तिकली गरेर दुई वटा हात्ती राखिएको छ ।

“सबै हात्तीको स्वास्थ्य अवस्था ठिक रहेको र निकुञ्जमा हात्ती सफारी गर्न आउने पर्यटक प्रायः आन्तरिक नै छन्,” नायब सुब्बा कुमालले भन्नुभयो, “हात्ती सफारीका लागि निकुञ्जमा अहिलेसम्म आन्तरिक पर्यटक आउने गर्नुभएको छ । प्रतिव्यक्ति एक घण्टा हात्तीसफारी गरेको रु छ सय शुल्क लिइन्छ ।” रासस