२०८१ बैशाख १६ , आइतवार

काठमाडौँ महानगरपालिकाको पहिलो चौमासिकमा लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन

Capture

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ । १० अर्व ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कार्तिक गरी ४ महिनामा २ अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । गएको बर्ष यस अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो । त्यो बर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो ।

 

शीर्षकगत रुपमा हेर्दा प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएको थियो । १ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रुपैयाँ (२७.९१%) राजस्व संकलन भएको छ । गएको बर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएको थियो । पहिलो चौमासिकमा ५२ करोड ४७ लाख ८० हजार ८४ रुपैयाँ (५२.४८%) प्रतिशत राजस्व उठेको थियो । यस बर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख ५१ हजार ८३७ रुपैयाँ (३०.८०%) राजस्व संकलन भएको छ । यही शीर्षकमा गएको बर्ष २ अर्ब लक्ष्य राखिएको थियो । यस अवधिमा लक्ष्यको ३९.१९% अर्थात् ७८ करोड ३७ लाख ५ हजार १५३ रुपैयाँ संकलन भएको थियो ।

 

यस बर्ष १ अर्व २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रुपैयाँ (९.१०%) राजस्व संकलन भएको छ । यस शीर्षकमा गएको बर्ष २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको थियो । यस शीर्षकमा पहिलो चौमासिक अवधिमा ११ करोड ६८ लाख ३५ हजार ४८६ रुपैयाँ (४.६७%) राजस्व संकलन भएको थियो । घरजग्गा रजिष्ट्रेसन दस्तुरको लक्ष्य चालु आर्थिक बर्षमा किन घटाइयो, प्रश्नको उत्तरमा राजस्व विभागका प्रमुख काफ्ले भन्नुहुन्छ, ‘घरजग्गाको कारोवार सबै समयमा एकै प्रकारको छैन । कहिले धेरै र कहिले कम हुन्छ । विगत ३ बर्षदेखिको घर जग्गा रजिष्ट्रेसनबाट प्राप्त भएको दस्तुरको विश्लेषण गर्दा कारोबार घटिरहेको अवस्था देखिएको र कित्ताकाटका लागि सरकारले छिटो छिटो निर्णय परिवर्तन गरेको देखिएकाले यस शीर्षकमा राजस्व संकलनको लक्ष्य घटाएका हौँ ।’

 

यस बर्ष ससर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रुपैयाँ र ससर्त अनुदान पुँजीगततर्फ २९ करोड ५० लाख रुपैयाँ लक्ष्य राखिएको छ । यी शीर्षकमा क्रमशः ३५ करोड ६६ लाख ११ हजार ५ सय रुपैयाँ (२४.९९%) र ७३ लाख ७५ हजार रुपैयाँ (२५.००%) प्राप्त भएको छ । गएको बर्ष यी शीर्षकमध्ये चालुतर्फ १ अर्ब २८ करोड ९६ लाख ६ हजार रुपैयाँ र पुँजीगतर्फ २४ करोड १० लाख रुपैयाँ लक्ष्य राखिएको थियो । सरकारबाट यी दुवै शीर्षकमा एकमुष्ट ४० करोड १० लाख ११ हजार ५५० रुपैयाँ प्राप्त भयो । यसकारण गएको बर्ष हामीले चालु र पुँजीगत छुट््याउन सकेनौँ । राजस्व विभागका प्रमुख काफ्लेले यसबर्षदेखि छुट््याएर पठाउन थालिएको बताउनुभयो ।

 

पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख ११ हजार ५ सय (५९.११%), २ करोड ५० लाख रुपैयाँ बेरुजु फस्र्योट गर्ने लक्ष्य राखिएकोमा १ करोड ३४ लाख ७८ हजार ९९७ रुपैयाँ (५३.९२%), अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५० लाख ९६ हजार ५ सय रुपैयाँ (१०१.९३%) राजस्व संकलन भएको छ । नाता प्रमाणित दस्तुरमा ३५.४८%, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८%, व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३०.७२% लक्ष्य प्राप्त भएको छ । यी शीर्षकमा क्रमशः ५० लाख रुपैयाँ, २ करोड रुपैयाँ र ७१ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको थियो भने १७ लाख ७४ हजार रुपैयाँ, ७५ लाख ७६ हजार ४३ रुपैयाँ र २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ प्राप्त भएको छ । बाँडफाँडबाट प्राप्त हुने बिज्ञापन करबाट लक्ष्यको ४.९५% अर्थात् ३९ लाख ५७ हजार १८७ रुपैयाँ प्राप्त भएको छ । यस शीर्षकमा गएको आर्थिक बर्ष र चालु आर्थिक बर्षमा एउटै अङ्क (८ करोड रुपैयाँ) लक्ष्य राखिएको छ । यससँगै महानगरपालिकाले पार्किङ्क शुल्क, नक्सापास दस्तुर, शिफारिस, न्यायिक दस्तुर, व्यक्तिगत आन्तरिक अनुदान, बाँडफाँडतर्फ बन रोयल्टी, वित्तीय निकायबाट प्राप्त हुने व्याज, समानीकरण अनुदानलगायत शीर्षकबाट आय प्राप्त गर्छ । मेट्रो न्युज