२०८१ जेठ २ , बुधवार

गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव : महायज्ञ लगाइँदै

note

सुनाखरी न्युज/ काठमाडौं । कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो ।

 

सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले आयोजना गर्न लागेको उक्त महायज्ञ सम्पन्न गर्न द्वारिका जोशीको संयोजकत्वमा ‘टीकापुर गौशाला ज्ञान तथा धार्मिक महोत्सव मूल समारोह समिति’ गठन गरिएको छ । महायज्ञबाट भएको आम्दानीबाट गौशालालाई व्यवस्थित गरिने आयोजकले जनाएको छ । महायज्ञमा अन्तर्राष्ट्रिय भागवत भूषण वाचन शिरोमणि आचार्य नारायण शरण प्रमुख वाचक रहने जनाइएको छ ।

महायज्ञमा तुला दान, अन्न दान, पितृ दान, ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा, विशेष पूजा, व्रतबन्ध र ग्रह पूजाको व्यवस्था गरिएको छ । “हामी महायज्ञ कर्म खर्चमा कसरी गर्ने भनी लागेका छौँ, टेण्ट, कलाकार निःशुल्क उपलब्ध हुनुभएको छ”, संयोजक जोशीले भन्नुभयो, “मुख्य वाचक र ब्राह्मणलाई न्यून रकम दिने गरी महायज्ञ गर्न थालेका छौँ ।”

स्थानीय राजकुमारी सिंह गाईको संरक्षण गर्नलाई व्यवस्थित बासको योजना बनाएर युवाहरू अघि बढेको देखेर आफू पनि महायज्ञ सफल पार्न अभियानमा जोडिएको बताउनुहुन्छ । “छाडा पशुले महिलालाई धेरै पीडा थियो, थोरै बारी पनि गाईगोरुले नोक्सान गरिदिने समस्या थियो”, उहाँ भन्नुहुन्छ, “किसानको बाली पनि जोगिने, गाईवस्तुको पनि उचित संरक्षण हुने काम राम्रो छ । सबैले सकेको सहयोग गर्ने हो ।”

स्थानीय मकरबहादुर केसी युवाहरू गाई संरक्षणमा जुटेको देख्दा किसानलाई बढी राहत भएकाले संरक्षण अभियानमा सबै सहयोगी बन्नुपर्ने बताउनुहुन्छ । “कमाइ गर्ने उमेरका युवा गाई संरक्षणमा लागेका छन्”, उहाँ भन्नुहुन्छ, “समाजकै लागि सकारात्मक सन्देश हो । गाई संरक्षण सबैभन्दा पुण्यको काम हो ।”

 

विसं २०८० जेठ १४ गते संस्थामार्फत टीकापुरका केही युवाले वडा नं २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका छन् । उनीहरूले छाडा गाइगोरु खुला आकाशमा हुलेको दृश्यलाई ख्याल गरेर संरक्षणमा लाग्ने निधो गरेका हुन् । गाईको संरक्षण गर्नलाई व्यवस्थित बासको योजना बनाएर अघि बढेकोे सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बिसीले जानकारी गराउनुभयो । “गाई संरक्षण गर्न सक्ने हो भने दूधदेखि मलमूत्र सबै प्रयोगमा ल्याउन सक्छौँ”, उहाँले भन्नुभयो, “हुलिएका छाडाको बास र खानाको व्यवस्था हाम्रो प्रमुख उद्देश्य हो ।”

 

संस्थामा गौशालाको संरक्षण थालेपछि तरकारी हाटबजारमा खेर फालिएको तरकारी सङ्कलन गरी गाईका लागि लगिने गरिएको छ भने गोबरबाट जैविक मल, दियो र धूपको उत्पादन गर्न थालिएको छ । यसैगरी गौशालामा राखिएका गाईगोरुलाई भिटामिन, क्याल्सियम, जुकाको औषधि, खोप लगाउने काम भएको छ भने सुत्केरी र गर्भवती गाईलाई छुट्टाछट्टै राखेर हेरचाह गर्ने गरिएको छ । गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँसखेती गरिएको छ । त्यहाँ निर्माण गोबरग्यास प्लान्टबाट बिहान बेलुका दुई–दुई घण्टा ५५ घरधुरीलाई खाना पकाउन बायोग्यास वितरण गरिएको छ । रासस