२०८१ बैशाख २४ , सोमवार

पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।

पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए । भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउन समेत संलग्न उक्त टोली शनिबार काठमाडौँ आइपुगेको छ। टोलीमा पौडेलसहित दिल्लीराम सुवेदी, दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत , महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका थिए ।

 

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो । कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णयअनुसार अन्य टोली पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको छ ।
नेता पौडेलका अनुसार टोलीले १०० वटा अस्थायी घर निर्माणमा श्रमदान गरेपनि आवासका लागि चाहिने जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाउने कार्य भएको बताएका छन् । आवास निर्माणको सरकारी मापदण्ड बनेपनि सो अनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

No description available.

यसैबीच पौडेलले पुनर्निर्माणबारे विभिन्न १० बुँदे सुझाव पनि दिएका छन्-
१, सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउनु पर्ने ।
२, भूकम्पले क्षतविक्षत भएका घर गोठ तत्काल सफा गरेर ( पूर्ण रूपमा भत्किएका घर सफाइ गर्न तथा आंशिक रुपमा क्षति भएका घर भत्काउन जनशक्तिको ठुलो अभाव रहेको ) सुरक्षाकर्मीको प्रयोग गरी मुचुल्का तथा आवश्यक प्रक्रिया पूरा गरी टहरा निर्माणका लागि सहजीकरण गर्नुपर्ने ।
३, टहरा निर्माणका लागि ठुलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने ।
४, चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने ।
५, भूकम्पका कारणले प्रभावित भएका बालबालिकाको नियमित अध्ययन अध्यापन सुचारु गर्न अस्थायी संरचना तथा विद्यालय पुनर्निर्माण तत्काल गर्नुपर्ने ।
६, स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने ।
७, जिल्लाका कतिपय बस्ती अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न योजना निर्माण गर्नुपर्ने ।
८, भूकम्पबाट हुन सक्ने जोखिम कम गराउन भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आवश्यक जनचेतना तथा प्राविधिक सहयोग गर्नुपर्ने तथा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने ।
९, पुन निर्माण तथा नागरिकको स्थायी घर निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने ।
१०, गरिबीको रेखा मुनि रहेका नागरिकलाई भइपरी आउने आपत् विपत्‌मा सहयोग गर्न तथा सरकारको आभास हुने गरी दीर्घकालीन व्यवस्थापनका योजना निर्माण गर्नुपर्ने ।