२०८१ बैशाख २० , बिहिवार

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या

Capture

सुनाखरी न्युज / काठमाडौं । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ । चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले जानकारी दिनुभयो ।

कार्यालयमा छजना प्राविधिकतर्फको दरबन्दी रहे पनि आधा दरबन्दी खाली रहेको उहाँले बताउनुभयो । “दुईजना इन्जिनियरको दरबन्दी रहेकामा दुईवटै खालीे छ”, उहाँले भन्नुभयो, “हाम्रा योजना कार्यान्व्यनको मुख्य अङ्ग भने प्राविधिक नै हुन्, योजना कार्यान्वयनका लागि इन्जिनियर र ओभरसियर नहुँदा कार्यान्यनमा जटिलता भएको छ ।”

दरबन्दीअनुसार कार्यालयमा प्राविधिक नभएकाले योजना कार्यान्व्यन प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको छ । “दरबन्दीअनुसार प्राविधिक पठाइदिन मन्त्रालयलाई पत्राचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “मन्त्रालयले पठाउँछ भन्नेमा ढुक्क छौँ ।” योजना सुरु गरे पनि कार्यालयबाट आवश्यकतानुसार प्राविधिक अनुगमनका लागि पुग्न नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।

“एउटै योजनाका लागि पाँच–सातपटक जानुपर्ने अवस्था पनि हुनसक्छ, तर थोरै कर्मचारी पर्याप्त नहुँदा दुई–तीन पटकमात्र प्राविधिक फिल्डमा पठाउनुपर्ने बाध्यता हुन्छ”, उहाँले भन्नुभयो । योजनाको सङ्ख्या हेर्दा भएको दरबन्दीले नपुग्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

“भएको दरबन्दीमात्र भए पनि काम गर्न सहज हुने थियो”, प्रमुख पौडेलले भन्नुभयो, “वर्षैपिच्छे योजना सङ्ख्या बढ्दै जाने प्राविधिकचाहिँ घट्दै जाने अवस्था छ ।” प्राविधिकको अभावमा योजनाको गुणस्तर कायम गर्नसमेत कठिनाइ हुने उहाँले बताउनुभयो । “सबै कुरा निगरानीको पनि कुरा हो”, उहाँले भन्नुभयो, “प्राविधिकको निगरानी कम हुने अवस्था आयो भने योजनाको गुणस्तर कायम गर्न समस्या हुनसक्छ ।” रासस