२०८१ बैशाख १७ , सोमवार

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सुरु

Capture

सुनाखरी न्युज / काठमाडौं ।
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखि ‘एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका-१३ स्थित आर्बा-विजयडाँडामा आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ११ देशका ५५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी खेलाडीमा पाँच जना महिला छन् । साहसिक खेल पर्यटनका लागि प्रख्यात पोखरामा प्रतियोगिताबाट विश्वभरका साहसिक माउन्टेन बाइकप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता समुद्री सतहबाट एक हजार तीन सय ६० मिटर उचाइमा रहेको आर्वा–विजयडाँडामा सुरु भएको हो । प्रतियोगिताका लागि पाँच वटा रुट तय गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिङ्गापुरका खेलाडी वेलसोन लोलाई नम्बर प्लेट दियर प्रतियोगिताको उद्घाटन गर्नुभयो । इलिट पुरुषतर्फ जुनियर (१२-१८ वर्ष), मास्टर्स ‘क’ (३०-३९ वर्ष), मास्टर्स ‘ख’ (४०-४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ-बाइक गरी सात विधामा प्रतिस्पर्धा सञ्चालन गरिने प्रतियोगिताका निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रतियोगिताको इलिट पुरुषतर्फको विजेताले नगद रु ५० हजार उपविजेतालाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ सोही इभेण्टमा विजेतालाई रु ३५ हजार, उपविजेतालाई रु २५ हजार र तृतीय हुनेलाई रु १५ हजार पुरस्का प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा महानगर प्रमुख आचार्यले पोखरालाई खेल पर्यटनको राजधानीका रुपमा विकास गर्नका लागि खेलकुद प्रतियोगितालाई सहयोग गर्दै आएको बताउनुभयो । “पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरले योजना बनाएर काम गर्दै आएको छ । आचार्यले भन्नुभयो, “प्राविधिक हिसाबले आर्वाकोडाँडा प्रतियोगिता सञ्चालनका लागि उपयुक्त भएपछि छनोट गरेका हौँ ।”

पोखरा महानगरपालिका-१३ का वडाध्यक्ष किरण बरालले विकासमा पछाडि परेको आर्वाको भौतिक तथा पर्यटन विकासमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा-१२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाले पर्यटन विकासबाटै पोखराको समृद्धि हासिल गर्न सकिने भएकाले वडाका पर्यटकीय क्षेत्रको विकासमा महानगरले साथ र सहयोग गर्न आग्रह गर्नुभयो । रासस