२०८१ बैशाख २० , बिहिवार

पनौती–सम्पदा चिनाउन ‘पथ प्रदर्शक’

Capture

सुनाखरी न्युज / काठमाडौं ।
काभ्रेपलाञ्चोकको पनौतीको थप प्रचारप्रसार गर्न ‘पथ–प्रदर्शक’ प्रवद्र्धन गर्न स्थानीयस्तरबाटै प्रयास थालिएको छ । यसका लागि पनौती पर्यटन केन्द्रले पथ प्रदर्शक तयारी गर्ने उद्देश्यले पहिलो चरण २० युवालाई तालिमको सुरुआत गरेको छ । नगरको वडा नं ५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठ–मन्दिर, पाटी–पौवा, डबली र सत्तल छन् ।

पनौतीमा रहेक इँटा र ढुङ्गाको महत्व रहेकाले सोहीअनुरुप ‘गाइड’ तयार पार्ने भएकाले यसले नेपालकै आन्तरिक पर्यटकसँगै भारत, चीन, फ्रान्स, बेलायत र अमेरिकाबाट आउने पर्यटकले पनौतीका बारेमा धेरैभन्दा धेरै कुरा थाहा पाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । पनौतीमा एक वर्षमा औसत १८ हजार पर्यटक आउने तथ्याङ्क छ । बाहिरबाट आउने गाइडले पनौती चिनाउँदै आएकाले स्थानीयलाई तालिमको सुरुआत गरेको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को मापदण्डको पूर्ण पालना गर्न स्थानीय घरलाई सम्पदामैत्रीरुपमा निर्माण थालिएको छ । सम्पदामैत्री घर बनाउनेलाई नगरले प्रोत्साहनस्वरुप रकमसमेत सहयोग गर्दै आएको छ । ऐतिहासिक एवं पुरातात्विक तथा संरक्षित स्मारक क्षेत्र पनौती युनेस्कोद्वारा २६ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । यस्तै पनौती नगरको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरातत्व विभागले दिएको मापदण्डअनुसार सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग दिन थालको नगरले जनाएको छ ।

संरक्षित क्षेत्रअन्तर्गत हाल सम्पदामैत्री घर बनाउने सूचीकृत सङ्ख्या ८९ पुगेको छ । हालसम्म ११ घरलाई रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्सहान रकम प्रदान गरिएको नगरले जनायो । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ ।

पनौती सङ्घीय राजधानी काठमाडाँैबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । सरकारले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । पनौती ऐतिहासिक, पर्यटकीय एवं पुरातात्विक सम्पदा क्षेत्र हो । यस हिसाबले पनौतीका हरेक टोल, चोक र मन्दिर पुरातात्विकरुपमा महत्वपुर्ण छन् । अझ ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको हो । रासस