२०८१ बैशाख १७ , सोमवार

नेपालगञ्ज नाकाबाट करिब १८ अर्बको वैदेशिक व्यापार

New Note
सुनाखरी न्युज/ काठमाडौं ।चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट रु १७ अर्ब ९३ करोड १३ लाख ८३ हजारको वैदेशिक व्यापार भएको छ ।
उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा रु ४४ करोड १७ लाख ९६ हजारको मात्रै निर्यात भएको उहाँले सुनाउनुभयो । पछिल्लो तीन महिनामा भारतबाट मात्रै रु १५ अर्ब २९ करोड ७८ लाख ८४ हजार बराबरको सामग्री आयात भएको छ । जुन कूल आयातको ९३.१९ प्रतिशत हो ।
त्यस्तै नेपालगञ्ज नाका हुँदै रु ५३ करोड ६५ लाख ८८ हजार अर्थात् कूल निर्यातको ९८.८२ प्रतिशत हिस्सा भारतले नै ओगटेको छ । भन्सार कार्यालयले दिएको जानकारी अनुसार दोस्रो धेरै निर्यात हुने देशको सूचीमा युनाइटेड अरब इमिरेट्स र म्यानमार रहेको छ ।  नेपालगञ्ज नाका हुँदै भारत, बेलायत, मलेसिया, म्यान्मा, चाइना, भियतनाम, बेल्जियम, इटली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, साउदी अरेबिया, सिङ्गापुरसहित २१ देशबाट सामान आयात भएको कार्यालय प्रमुख विकले बताउनुभयो ।
यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यान्मासँग मात्रै निर्यात व्यापार हुने गरेको छ । नेपालगञ्ज नाका हुँदै भारतलगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुन्छ । यस नाकाबाट विशेषगरी जडिबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदै आएको भन्सार कार्यालयले जनाएको छ ।रासस