२०८१ जेठ २ , बुधवार

पुर्खाैली कालीगड पेसामा रमाउँदै महेन्द्र

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।
धेरै युवामा विदेशप्रतिको मोह रहेपनि भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका महेन्द्र रसाइली पुर्खौली कालीगड पेसामा रमाउँदै आउनु भएको छ । पुर्खौली पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको रसाइलीको भनाइ छ । पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमापर्ने अवस्था आएकाले यो पेसाको संरक्षणमा जुटेको रसाइलीले बताउनुभयो । आफ्नो उद्योगमा उत्पादन भएको खुकुरी भोजपुर सदरमुकामसँगै स्थानीय बजारमा बिक्री गर्दै आएको उहाँको भनाइ छ । आफूले भोजपुरे, सिरुपाते, चित्लाङ्ले, कोथीमोडा लगायतका खुकुरी बनाउने रसाइलीको भनाइ छ । स्वदेशमा नै कालीगड पेसा गरेर परिवारको घरखर्च धान्दै आएको उहाँले बताउनुभयो ।

“विदेशप्रतिको मोह त्यागेर पुर्खौली कालीगड पेसा गर्दै आएको छु” उहाँले भन्नुभयो,“हामी जस्ता नयाँ पुस्ताले संरक्षणमा ध्यान नदिने हो भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ । यसको संरक्षण गर्दै नयाँ पुस्तासम्म सीप हस्तान्तरण गर्ने मेरो लक्ष्य छ ।”विभिन्न प्रकारका खुकुरी बनाउँदै आएको भए पनि मोफसलमा व्यवसाय सञ्चालन गरेकोले बजारीकरणमा केही समस्या रहेको उहाँको भनाइ छ । कतिपय खण्डमा मेहनत अनुसारको आम्दानी लिन समस्या हुने गरेको उहाँले बताउनुभयो ।“पछिल्लो समयमा यो पेसाप्रति युवाको आर्कषण घट्दो छ” उहाँले भन्नुभयो,“यो काम गर्न अलि बढी नै मेहनत पर्छ । दुर्गम ठाउँमा व्यवसाय सञ्चालन गरिरहेकाले बजारसम्म पु¥याउन अलि समस्या हुन्छ ।”

व्यवसाय सञ्चालनमा कच्चापदार्थ र बजारको समस्या रहेको उहाँको भनाइ छ । सामुदायिक वनबाट सहज रुपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको कालीगडको भनाइ छ । उत्पादन गरेको खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको उहाँले बताउनुभयो । राज्यको तर्फबाट यसको विकास तथा संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
“समाजमा यो पेसालाई अझै पनि अपहेलनाका रुपमा लिने चलन छ”उहाँले भन्नुभयो,“मेहनत गरे अनुसारको प्रतिफल लिन अलि समस्या नै छ । कच्चा पदार्थको अभाव छ । फलामको मूल्य बढ्दो छ । तर उत्पादित सामग्रीलाई सोचे अनुसारको मूल्यमा बिक्री गर्ने बजार छैन । विचौलियालाई बेच्नुपर्ने अवस्था छ । राज्यले उत्पादित वस्तुको सही मूल्य पाउने वातावरण निर्माणसँगै आवश्यक सहयोग गरे राम्रो हुने थियो ।”

दिनानुदिन कालीगड पेसा छाड्नेको सङख्या बढ्न थालेपछि प्रोत्साहनको कार्यक्रमलाई अघि बढाएको टेम्केमैयुङ– ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिनुभयो । “पछिल्लो समय वडामा भएका कालीगड पलायन हुँदै गएको अवस्था छ”वडाध्यक्ष नेपालले भन्नुभयो,“अहिले हामी यो पेसाको संरक्षणमा जुटेका छौँ । गतवर्ष यहाँका कालीगडलाई रु एक लाख बराबरको सहयोग गरेका छौँ ।”
भोजपुरे खुकुरीले नाम कमाएको जिल्लामा कालीगड पेसा सङ्कटमा पर्दै गएपछि संरक्षणमा जुटेको उहाँको भनाइ छ ।

पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको वडा कार्यालयको भनाइ छ । “विगतमा हाम्रो ठाउँमा कालीगढ धेरैको सङ्ख्यामा थिए” उहाँले भन्नुभयो,“अहिले व्यावसायिक रुपमा यो काम गर्ने ६÷सात घर मात्र छन् । संरक्षण गरिएन भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ । त्यसैले हामीले केही सहयोग गर्दै आएका छौँ ।” रासस