२०८१ बैशाख १७ , सोमवार

‘इलाम गोल्डकप’ माघमा हुने

football 5

सुनाखरी न्युज/ काठमाडौं ।
इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो ।

आयोजक क्लबका सचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।

इलामको ठूलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा नेपाल र देशबाहिरको एउटा टोलीसहित आठ टोली सहभागी हुने जनाइएको छ । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरीलगायत टोली सहभागी हुने भएपनि प्रतियोगितामा सहभागी हुने केही टोलीको अझै टुङ्गो लागिसकेको छैन ।

विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी नै रहेको जनाइएको छ ।

इलाममा यसअघि माईभ्याली गोल्डकपसमेत सञ्चालन हुँदै आएको थियो । माईभ्याली गोल्डकपसमेत फागुनमा गर्ने भनेर मिति तय भइसकेको थियो तर तत्कालका लागि माईभ्याली गोल्डकप नगर्ने बताइएको छ । पहाडी जिल्लामा छोटो समयमा दुईवटा प्रतियोगिता गर्न नसकिने भएपछि माईभ्यालीले आयोजना गर्ने प्रतियोगिता स्थगित गरेर इलाम गोल्डकपलाई नै सहयोग गर्ने माईभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले बताउनुभयो ।

उनै दाता, सङ्घसंस्था तथा पुरस्कार प्रायोजन गर्नेहरु भएपछि पनि तत्कालका लागि उक्त प्रतियोगिता स्थगित गरिएको हो ।

यसअघि फागुन २४ देखि चैत ३ गतेसम्म यही टुँडिखेलमा माईभ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको थियो तर माईभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माईभ्याली गोल्डकपलाई केही समय स्थगित गरिएको छ ।रासस