२०८१ जेठ ४ , शुक्रवार

बैतडीका शक्तिपीठमा जात्रा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बैतडीका शक्तिपीठमा जात्राको रौनक छाएको छ । जात्राकै लागि यहाँका चारवटा स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ । स्थानीय शक्तिपीठमा जात्रा रहेकाले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका र दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा लागेको जात्राका अवसरमा सार्वजनिक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताउनुभयो । नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्थालगायत बन्द रहने छन् । महारुद्र जात्रामा स्थानीयको सहभागिता रहने र यो क्षेत्रको मुख्य धार्मिकस्थल भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

यस्तै शिवनाथ गाउँपालिकामा पनि आज सार्वजनिक बिदा दिइएको छ । प्रसिद्ध शिवनाथधामको जात्राका अवसरमा सोमबार र मङ्गलबार दुई दिन सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । शिवनाथ जात्रामा स्थानीयको उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ । शिवनाथ धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।

यसैगरी डिलासैनी गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिका–५ स्थित प्रसिद्ध कफलासैनी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा बिदा दिइएको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताउनुभयो । कफलासैनी यो क्षेत्रको मुख्य शक्तिपीठ हो । दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्र बुधबार सार्वजनिक बिदा दिएको छ । दशरथचन्द–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । रासस