२०८१ बैशाख २० , बिहिवार

राप्रपा: नेपालको नव निर्माण गर्ने अठोट र चिन्तन बोकेको उज्यालो तारा हो : राप्रपा पूर्वअध्यक्ष डा. लोहनी

Capture

सुनाखरी न्युज/ काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सोमबार सामाजिक संजाल मा लेख्दै भने राप्रपा नेपालको नव निर्माण गर्ने अठोट र चिन्तन बोकेको उज्यालो तारा हो । राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अघि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन वा जनसंघर्षमा राप्रपाका कार्यकर्ताको सहभागिता हुनुपर्ने बताएका छन् ।

यस्तो छ लोहनीको भनाई

१. राप्रपा नेपालको नव निर्माण गर्ने अठोट र चिन्तन बोकेको उज्यालो तारा हो ।

२. राप्रपाको एकता महाधिवेशनले राष्ट्रियता, स्वतन्त्रता र देशको सार्वभौमिकताको पहरेदारको रूपमा अगाडि बढ्न र यसको लागि निरन्तरता सहितको गतिशीलताको सिद्धान्तलाई आत्मसात् गर्न हामीलाई निर्देश गरेको छ ।

३. एकता महाधिवेशनमा पारित राप्रपाको आर्थिक र राजनीतिक दस्ताबेज का केहि मूल तत्त्व छन् । ती हुन् (१) संविधान भित्रको राज संस्था स्थापित गर्ने (२) सर्व धर्म समभाव सनातन हिन्दु राष्ट्रको पहिचान कायम गर्ने (३) तल्लो तहको सरकारलाई संविधान बाट बढी भन्दा बढी अधिकारको हस्तान्तरण गर्ने (४) राज्य शक्ति को दुरुपयोग र भ्रष्ट्राचार विरुद्ध कसैप्रति मुलाहिजा नराखी कठोर प्रहार गर्ने (५) साना किसान, साना उद्योग व्यवसायी र मजदुर मैत्री आर्थिक नीति र संरचना लागु गर्ने (६) देश भित्र गरी खाने वर्गलाई नयाँ उन्नतिको मौका र उत्साह प्रदान गर्ने (७) माथि उल्लेखित दृष्टिकोण कायम गर्न संविधान मा आवश्यक संशोधन गर्ने

४. राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जन अभियान/जन प्रदर्शन/संघर्षमा राप्रपाका कार्यकर्ताहरूको सहानुभूति र समर्थन हुनु स्वभाविक हुन आउँछ । अत: मङ्सिर ७, २०८० मा हुने भनिएको जनप्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ । यही अनुरोध राप्रापाका सबै साथीहरू तथा आम जनसमुदायमा राख्दछु ।