२०८१ जेठ ६ , आइतवार

प्रयोगशाला सुरु भएपछि कुसुमवासीमा खुसियाली

Capture

सुनाखरी न्युज/ काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएपछि वडावासी खुसी छन् ।

प्रयोगशाला नहुँदा छिमेकी जिल्ला दाङको लमही, बाँकेको बैजापुर वा कोहलपुर पुग्नुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएपछि कुसुमक्षेत्रका बैरिया, बर्दापुर, लौकी, चपरगौडी, बाघखोर, बासखोली, भवानीयापुर, खोकरी, भम्का, सिक्टा, गाभरलगायत क्षेत्रका बासिन्दालाई उपचारका लागि सहज भएको राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताउनुभयो ।

“यहाँ प्रयोगशाला नहुँदा छिमेकी जिल्ला दाङको लमही, बाँकेको बैजापुर वा कोहलपुर पुग्नुपर्ने बाध्यता थियो, अब स्थानीयवासीले आफ्नै गाउँमा सेवा पाउने भएका छन्”, वडाध्यक्ष खड्काले भन्नुभयो, “सामान्य रोगको परीक्षणका लागि पनि दिनभरको यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ, यसलाई प्रभावकारी र गुणस्तरीय बनाउनु पर्नेछ ।”

गाउँपालिकाले उपलब्ध गराएको रु पाँच लाख बजेटबाट कुसुम स्वास्थ्यचौकीमा प्रयोगशालासुरु गरिएको हो । गाउँपालिका अध्यक्ष तप्त पौडेलले सबै नागरिकलाई सहज र सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न कुसुम स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन गरिएको बताउनुभयो ।

सीमित स्रोतसाधनलाई अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ थियो । स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवाहरुलाई पहुँचमैत्री र प्रभावकारी बनाउने गरी गाउँपालिका लागिपरेको उल्लेख गर्दै अध्यक्ष पौडेलले यसमा सबैको सहयोग र साथको आवश्यकता रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले पूर्वी क्षेत्रमा रहेको कुसुममा ल्याब सेवा सुरु भएपछि यसक्षेत्रका नागरिकलाई ठूलो राहत मिलेको जानकारी दिनुभयो । स्वास्थ्यचौकीलाई पनि स्तरीय बनाउँदै लगिएको बताउँदै उहाँले सेवा प्रवाहलाई पनि बिरामीमैत्री बनाइएको जिकिर गर्नुभयो ।

“गाउँपालिकाका सबै स्वास्थ्यचौकीलाई स्तरीय बनाउँदै लगिएको छ”, उहाँले गाउँपालिकाको वडा नं १ कुसुमक्षेत्र जिल्ला सदरमुकाम नेपालगञ्जबाट करिब ७० किलोमिटर टाढा दाङसँग जोडिएको छ ।

रासस