२०८१ बैशाख २१ , शुक्रवार

अधिकांश बैंकको मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा

Bank

सुनाखरी न्युज/ काठमाडौं । मंसिरको लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर एकल अंकमा आइपुगेको छ। कात्तिकको तुलनामा वाणिज्य बैंकहरुले मंसिरका लागि तोकेको निक्षेपको ब्याजदर औसतमा पनि घटेको देखिएको छ । केही महिनादेखि नै औसत ब्याजदर घट्दै आएको थियो । यो क्रमले मंसिरमा पनि निरन्तरता पाएको हो ।

कात्तिकमा वाणिज्य बैंकहरुको व्यक्तिगत र संस्थागततर्फको मुद्दति निक्षेपको औसत ब्याजदर क्रमशः ९.९६४२ र ७.८५३२ प्रतिशत रहेको थियो । मंसिरमा घटेर व्यक्तिगत र मुद्दति निक्षेपतको औसत ब्याजदर क्रमशः ९.६३२४ र ७.५४६६ प्रतिशत कायम भएको छ । यसरी हेर्दा कात्तिकको तुलनामा मंसिरका लागि बैंकहरुले तोकेको ब्याजदर औसतमा ०.३३१६ र ०.३०६६ प्रतिशतले घटेको छ । कात्तिक र त्यस अघिका महिनाहरुको तुलनामा एनआइसी एशिया बैंकले सबैभन्दा बढी ब्याज घटाएको छ । एनआइसी एशियाले मंसिरका लागि मुद्दति निक्षेपतर्फ व्यक्तिगतको अधिकतम ब्याजदर ८.९६८ र संस्थागतको अधिकतम ६.९६८ प्रतिशत तोकेको छ । यो बैंकको कात्तिकका लागि व्यक्तिगत मुद्दतितर्फ ११.००३ र संस्थागतर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको थियो ।

 

यो हिसाबले हेर्दा यो बैंकले २.०३५ प्रतिशत विन्दूले ब्याजदर घटाएको छ । त्यसपछि एनएमबी बैंकले १.२४३ विन्दूले ब्याजदर घटाएको छ । एनएमबी बैंकले मंसिरका लागि मुद्दति निक्षेपतर्फ व्यक्तिगत र संस्थागतका लागि क्रमशः ९.७६ र ७.७६ प्रतिशत तोकेको छ । कात्तिकमा यस्तो दर ११.००३ र ९.००३ प्रतिशत थियो । कुल २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । कुमारी, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, सिटिजन्स र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन्। माछापुच्छ्रे बैंकले कात्तिकको तुलनामा मंसिरमा ब्याजदर बढाएको छ भने बाँकी सबै बैंकले घटाएका छन् ।