२०८१ बैशाख २२ , शनिवार

थन्कियो दुग्धजन्य पदार्थ

Capture

सुनाखरी न्युज/ काठमाडौं । भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् ।

यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ । सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका हुन् । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार चार सय ५० टनभन्दा बढी बटर चिस्यान केन्द्रमा छ । उद्योगको बाहिरको दुई सय ५० टन क्षमताको चिस्यान केन्द्र र भित्रको ५० टनका दुईवटा चिस्यान केन्द्र भरिएर चारवटा प्यासेजमा बटर राखिएको छ । यसलाई माइनस २० डिग्री तापक्रममा राख्नुपर्छ ।

त्यसैगरी पाउडर दूधले गोदाम भरिएको छ । उहाँले भन्नुभयो, “हामीसँग रु एक अर्बको भन्दा बढी दुग्धजन्य पदार्थ गोदाममा छ ।” डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको पराजुलीको गुनासो छ ।

विसं २०६४ मा स्थापना गरिएको यो उद्योग भूकम्पसँगै बन्द हुन पुगेको थियो । विसं २०७५ देखि यो उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र बटरको प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

योमात्रै होइन, प्रशोधन गर्ने उद्योग र चिस्यान केन्द्र सबैमा दुग्धजन्य पदार्थ मौज्दात छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादव रु १० अर्बभन्दा बढीको दुग्धजन्य पदार्थ मौज्दात रहेको बताउनुहुन्छ । दसैँतिहारको समयमा मासुजन्य पदार्थ खपत बढी हुने हुँदा दुग्धजन्य पदार्थको खपत कम भएको उहाँले बताउनुभयो । आर्थिक मन्दीका कारण क्रयशक्ति घट्दा विगतको जस्तो खपत हुन नसकेको कार्यकारी निर्देशक डा यादवको भनाइ छ । क्रमशः खपत बढ्दै जाने उहाँको भनाइ छ । यससँगै भारत, बङ्गलादेश, जापानलगायतका देशमा निर्यातको विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । कार्यकारी निर्देशक डा यादवले भन्नुभयो, “खपत बढाउनका लागि सबै लाग्नुपर्ने देखिएको छ ।” प्रचारात्मक अभियानमार्फत खपत बढाउन उहाँले सुझाव दिनुभयो ।

डेरी एशोसिएसनका अध्यक्ष राजकुमार दाहाल दूध किन्न सक्ने अवस्था हुन छाडेको बताउनुहुन्छ । प्रशोधन भएका दुग्धजन्य पदार्थ राख्ने ठाउँ नहुँदा समस्या भएको उहाँको भनाइ छ । बीचको समयमा लम्पिस्किन रोगका कारण दूधको खपत घटेको र भारतीय बजारबाट दूध आएका कारण पनि नेपाली उत्पादनले बजार नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लागत मूल्य बढी हुँदा निर्यातमा पनि समस्या छ ।” सरकारले निर्यातमा अनुदान दिएर छिमेकी देशमा दुग्धजन्य पदार्थ पठाउनुपर्ने उहाँले बताउनुभयो ।

दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने भन्दै उहाँले त्यसमध्ये ५० प्रतिशत बजारमा आउने गरेको बताउनुभयो । बजार आएको दूधमध्ये पनि १७ प्रतिशतमात्रै सरकारी नीति–नियम पूरा गरेर प्रशोधन गर्न सक्ने गरी आएको अध्यक्ष दाहाल बताउनुहुन्छ । दैनिक तीन लाख लिटरभन्दा बढी दूध विभिन्न उद्योगमा प्रशोधन हुने गरेको भन्दै उहाँले सबै चिस्यान केन्द्र दुग्धजन्य पदार्थले भरिएको बताउनुभयो ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल आफूहरू बङ्गलादेश गएर अध्ययन गरेर फर्किएको भए पनि सरकारी अनुदानबिना यहाँको उत्पादन पठाउन नसकिने बताउनुभयो । स्वदेशमा यसको खपत बढाउन नसकेमा समस्या रही नै रहने भन्दै उहाँले दुग्धजन्य पदार्थको महत्वका बारेमा प्रचारात्मक अभियानमा जुट्नुपर्ने बताउनुभयो । आफूहरूले पाहुनालाई स्वागत, सम्मान गर्दा र मायाको चिनो दिनुपर्दा दुग्धजन्य पदार्थ प्रयोग गर्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामीले चिसो पेय पदार्थ होइन, दूध, दही र मोहीको प्रयोग गर्नुपर्छ”, भोजभतेरमा समेत मोही राख्ने चलन बढेको उहाँले बताउनुभयो ।

इतिहासमै पहिलोपटक दुग्धजन्य सबै पदार्थ मौज्दात रहेको दाहालले जानकारी दिनुभयो । सरकारले यसबारेमा समयमै सोचेर किसान र उद्योग बचाउनुपर्ने धेरैको माग छ । डेरी उद्योगले दुग्धजन्य पदार्थ राख्ने ठाउँ अभाव भएको भन्दै लैजान आनाकानी गर्न थालेपछि किसान चिन्तित बनेका छन् । रासस