२०८१ बैशाख १९ , बुधवार

पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला

Capture

सुनाखरी न्युज/ काठमाडौं । पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार आउँदो शनिबार शुभारम्भ गरिने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाटबजारमा स्थानीय उत्पादनका दसभन्दा बढी स्टल रहनेछन् । मनखुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा राखिने छ ।

यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान (साइपाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषिउपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्री पनि राखिने भएको छ ।

हाटबजारमा तिहारलाई लक्ष्य गर्दै रैथाने खानाका परिकार (सेलरोटी, झिलिङ्गा, चिनीरोटी), स्थानीयस्तरमा उत्पादित खाद्य वस्तु कोदो, मकै, गहुँ, फापरलगायत विभिन्न तरकारी पनि बिक्रीका लागि राखिने प्रमुख कडरियाले बताउनुभयो ।

उहाँका अनुसार सो अवसरमा तीन दिनसम्म सयपत्री फूल मेला–२०८० समेत आयोजना गरिनेछ । महानगरपालिकाले स्थानीय कृषकसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी जमिनमा सयपत्री फूल लगाएको र उत्पादित फूल पनि बिक्रीमा राखिनेछ । सयपत्री फूलमा महानगरपालिका आत्मनिर्भर भएको उहाँले बताउनुभयो । प्रमुख कडरियाले भन्नुभयो, “यसपालीको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।” महानगरपालिकाले सयपत्री फूलको दररेटसमेत तोकेको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकको समन्वयमा फूलको दर तोकिएको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई रु पाँच देखि रु दस, १५ ग्राम तौल भएको एकथुङ्गाको मूल्य रु चार र पाँचदेखि दस ग्राम तौलको फूल रु दुई तोकिएको छ । यस्तै मालाको क्रमशः रु दुई सय, रु एक सय ८० र रु एक सय ५० तोकिएको छ भने प्रतिकेजी सयपत्री फूलको मूल्य रु चार सय तोकिएको छ ।

श्री कम्प्लेक्समा तीन दिनसम्म चल्ने मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवद्र्धन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल तथा अन्तक्र्रियात्मक कार्यक्रमहरू गरिनेछन् ।
रासस