२०८१ बैशाख २२ , शनिवार

अस्पताल निर्माण गर्न जग्गा दान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।‘एउटा स्थानीय तह, एउटा अस्पताल’अन्तर्गत हिमाली जिल्ला मनाङमा अस्पताल निर्माण गरिने भएको छ । नासो गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय डा देवीजङ्ग गुरुङले जग्गा दान गर्नुभएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको समन्वयमा उहाँले जग्गा दान गर्नुभएको हो ।

नासो–५ थोचेस्थित ‘हिमालयन फ्यामली हेल्थकेयर’को स्वामित्वमा रहेको उक्त जग्गा अस्पताल निर्माणका लागि पालिकालाई दिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार छ रोपनी ११ आना जग्गामध्ये पाँच रोपनी अस्पताल निर्माण गर्न पालिकालाई दान गरिएको छ ।

मनाङमा जन्मिएर अमेरिकामा बस्दै आउनुभएका डा गुरुङले दान गरेको जग्गाको मुल्य चलनचल्ती अनुसार करिब रु ७५ लाख पर्छ । गाउँपालिकाले पाँच श्ययाको अस्पताल निर्माण गर्ने योजना बनाएको छ । तर जग्गा अभावका कारण हालसम्म अस्पताल निर्माण गर्न सकिएको थिएन ।

हिमालयन फ्यामली हेल्थ केयरका संस्थापक तथा कार्यकारी निर्देशकसमेत रहेका डा गुरुङले आफ्नो संस्थाको उद्देश्यसँग मिल्ने खालको काम पालिकाले गर्न लागेपछि जग्गा उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पनि अस्पताल बनाउनकै लागि जग्गा खरिद गरेका हौँ । तर, निर्माण गरिएको थिएन । अहिले पालिकाको उद्देश्य र हाम्रो एउटै रहेकाले अस्पताल बनाउन जग्गा दिएका हौँ ।”

अस्पताल निर्माण भएपछि नासो गाउँपालिकावासीलाई स्वास्थ्योपचारमा सहज हुनेछ । सामान्य उपचारका लागि पनि स्थानीयवासी सदरमुकाम वा छिमेकी जिल्लाको अस्पताल पुग्नुपर्ने अवस्था छ । पालिकाले एक विशेषज्ञ चिकित्सक रहने गरी अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अध्यक्ष गुरुङले जग्गा निःशुल्क उपलब्ध भएकाले अब अस्पताल निर्माणको प्रक्रिया थाल्ने बताउनुभयो । रासस