२०८१ बैशाख २० , बिहिवार

भुकम्प पछि नेपाल प्रहरीले के गर्छ ?

Capture

भुवनेश्वर तिवारी । विपद् व्यवस्थापन र उद्धार प्रयासमा नेपाल प्रहरीले अरु सुरक्षा निकायहरुसँग मिलेर गर्ने कार्यहरु अत्यन्तै महत्वपुर्ण हुन्छन् । यस अघिका विपद्का बेला नेपाल प्रहरीले आफ्नो जनशक्ति र स्रोत साधनको प्रभावकारी परिचालन गरी प्रभावित समुदायलाई उद्धार तथा राहात दिलाउन उदाहरणीय र प्रशंसनीय भुमिका खेलेको थियो।

 

नेपाल प्रहरीले गर्ने मुख्य कार्यहरु:
क. खोजी र उद्धार कार्य: भत्केका संरचनामा फसेका र आपतमा परेकाको खोजी र उद्धारका लागि आवश्यकता अनुसार उद्धार सामग्री सहित टोलीहरु परिचालन गर्दछ । प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकाय र उद्धारमा संलग्न अन्य निकायसँग समन्वय गरी सामुहिक प्रयासहरुमा प्रभावकारीता बढाउने काम गर्छ ।
ख. सुरक्षा र कानुन कार्यान्वयन: कानुन विपरीतका गतिविधि हुन नदिन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्दछ । अति प्रभावित क्षेत्रमा आवश्यकता अनुरुप अस्थायी स्थानीय प्रहरी कमाण्ड पोष्ट स्थापना गर्दछ ।
ग. सडक अवरोध हटाई सवारी आवागमन सुचारु गरेर आपतकालीन सहायता सामग्री र उद्दारकर्ताको पहुँच सुनिस्चित गर्दछ ।
घ. उद्धार र आश्रय व्यवस्थापन: प्रभावित समुदायलाई सुरक्षित अस्थायी आश्रय स्थलहरुमा सार्ने कार्यमा तदारुकता देखाउँछ । विस्थापित समुदायको सुरक्षा र हितको काममा खटिन्छ ।
ङ. समन्वय र संचार: नेपाल सरकार, सम्बन्धित प्रमुख जिल्ला अधीकारी, अन्य सुरक्षा निकाय र उद्धार, राहात र पुनस्थापना कार्यमा संलग्न निकायहरुसँग प्रभावकारी समन्वय, सहकार्य र संचार सुनिश्चित गर्दछ ।
च. चिकित्सा सहायता: अन्य उपचारको व्यवस्था नहुँदासम्म शूरुमा प्राथमिक उपचारको व्यवस्था, फिल्ड अस्पताल स्थापना र सिकिस्त विरामीलाई अन्यत्रका अस्पतालहरुमा पठाउने कार्यमा समन्वय गर्दछ । यसपालि नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी पनि प्रभावित क्षेत्रमा पठाएको छ ।
छ. सुचना र जनचेतना: सुरक्षा उपायहरू, आपतकालीन सम्पर्क नम्बरहरू र खोज र उद्धार प्रक्रियाहरू बारे जानकारी गराउँछ भने Rumors र Misinformation बाट बच्न सुचना प्रवाह गर्दछ ।
ज. क्षति मुल्यांकन र प्रतिवेदन: उद्धार र पुस्थापनको लागि चाहिने स्रोत यकिन एवम् क्षतिको प्रभाव मुल्यांकन गरी माथिल्ला निकायमा प्रतिवेदन गर्दछ ।
झ. जोखिममा रहेकालाई सहायता: बालबालिका, ज्येष्ठ नागरीक र शारीरीक कमजोरी भएका हरुलाई सहायता गर्दछ ।
ञ. राहात र पुन:स्थापना कार्यमा सहयोग: खाद्यान्न, पानी, लत्ताकपडा र कम्बललगायत राहत सामग्रीको वितरणमा सहयोग गर्दछ । पुन: निर्माण र सामुदायिक पुनर्वास कार्यमा योगदान गर्दछ ।
ट. मुचुल्का र अभिलेख: पीडित र प्रभावितहरुको लागि कानुन बमोजिमका मुचुल्का हरुको काम एवम् उद्धार र राहात कार्यहरुको सम्बन्धमा अभिलेख राख्ने काम पनि नेपाल प्रहरीले गर्दछ ।

नेपाल प्रहरी अन्तर्गत हाल हरेक प्रदेश र केन्द्रीय स्तरमा विशेष तालिम र उद्धार कौशल सहित विपद् उद्धार इकाईहरु पनि रहेका छन् । यस विपद् मा नेपाल प्रहरीका स्थानीय, प्रदेश स्तरीय र केन्द्रीय टोलीहरु खटिनेछन् । २०७२ सालको भुकम्पमा विदेशबाट समेत खोज तथा उद्धार टोली आउनु परेको थियो। यस पटकको भुकम्पमा नेपाल सरकार र यसका सुरक्षा निकायहरुले खोज र उद्धार कार्यमा देखाएको तदारुकता प्रशंसनीय छ भने देश र विदेशबाट सहायता पनि उल्लेख्य रुपमा प्राप्त भएको छ जुन दुखेका घाउहरमा मल्हम लगाउन सहयोगी हुनेछन् ।