२०८१ बैशाख २२ , शनिवार

‘चैत महिनासम्म कुरेको भए मेरो ज्यान खतरामा हुने थियो’

pattethali

 

सुनाखरी न्युज /  काठमाडौं ।

पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहनुभएका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो । स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उहाँको आर्थिक बाध्यता थियो ।
पत्थरीका कारण उहाँलाई दुःखाई बढ्दै गयो । आर्थिक अभाव र पीडामा छट्पटाइरहनुभएका उहाँको बाध्यता बुझेर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले उहाँको निःशुल्क उपचार गरेको छ । गत असार २९ गते यहाँस्थित सरकारी भरतपुर अस्पताल परीक्षणपछि उहाँको शल्यक्रियाको पालो आगामी चैत १८ गतेका लागि तोकियो ।

 

पोखरेलले आर्थिक अभावका कारण उपचार पाउन नसक्दा पीडा भोग्नु परेको गुनासो नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सचिव दीपेन्द्र अधिकारीलाई जानकारी गराउनुभएको थियो । यसपछि सचिव अधिकारीले चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटालाई पोखरेलको समस्या बारेमा जानकारी दिनुभएको थियो । गत वर्ष नै उहाँमा पित्तथैलीको पत्थरी समस्या देखिएको थियो । त्यतिखेर बीमा थिएन । शल्यक्रिया गर्न पैसा आवश्यक हुने भएपछि उहाँ बीमा गरेरमात्र शल्यक्रिया गर्ने भनी बस्नुभयो । बीमा गरेपछि पनि उहाँले सहजै सुविधा लिन पाउनु भएन ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले विपन्न नागरिकको सेवा गर्नु आफूहरुको दायित्व भएको भन्दै बिरामी पोखरेलले उपचार खर्च सबै चितवन मेडिकल कलेजले नै व्यहोरेको बताउनुभयो । उहाँका अनुसार पोखरेल आज निको भएर घर फर्किंदै हुनुहुन्छ । अस्पतालले यसअघि पनि विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो । यही कात्तिक १३ गते चितवन मेडिकल कलेजमा उहाँको शल्यक्रिया भएको हो । शल्यक्रियापछि प्रतिक्रिया दिँदै पोखरेलले भन्नुभयो, “चैत कुरेको भए मेरो ज्यान खतरामा हुनेथियो ।” दैनिक तीन हजार हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने भरतपुर अस्पतालमा दुई तिहाइ जति बीमाका बिरामी हुन्छन् । शल्यक्रियाका लागि आउने बिरामीको पालो नौ महिनासम्म पछाडि पर्ने गरेको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल दूरबिनबाट पित्तथैलीको शल्यक्रियाका लागि नौ महिनासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा अस्पतालमा सरकारी दरबन्दीमा ‘सर्जन’ तीनजना दरबन्दी भए पनि छात्रवृत्ति करारका एकजना चिकित्सक मात्रै छन् । विकास समितिका नौजना चिकित्सक छन् । बिरामीको बढ्दो चापका कारण शल्यक्रिया गर्ने बिरामीले लामो समय पालो कुर्नु परेको उहाँले बताउनुभयो । रासस