२०८१ बैशाख २५ , मंगलबार

विश्वकप छनोट : नेपालले टस हारेर बलिङ गर्दै

khel khud

 

सुनाखरी न्युज  / काठमाडौं ।

आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरी खेल्नेछन् । यो खेलको विजेता टोलीले आगामी वर्ष सन् २०२४ मा हुने आइसिसी टि२० विश्वकप खेल्न पाउनेछ ।

 

नेपाल आजको खेलमा युएईलाई हराउँदै नौ वर्षपछि विश्वकपमा दोस्रो पटक स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रदैछ । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टि२० विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छ्रैन । प्रतियोगितामा नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह बी को विजेता हो । नेपालले यसअघि भएको समूह चरण खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो भने मलेसियालाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै हिजो भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रन पराजित भएको थियो । यता युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।

 

त्यसैगरी घरेलु मैदानमा टी२० विश्वकप छनोटको तयारी स्वरुप भएको त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल र युएईबीच लिग चरणको दुई खेल भने नेपालले जितेको थियो तर फाइनलमा भने नेपाल युएईसँग पराजित हुन पुगेको थियो ।  नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने छन । रासस