२०८१ बैशाख १६ , आइतवार

लगानीकर्ता निराश बन्दा शेयर बजारमा निरन्तर गिरावट

Share

सुनाखरी न्युज/ काठमाडौं ।
नेप्से सूचक बिहीबार  १०.८६ विन्दुले घटेर १८४७.७० अंकमा आएर अडिएको छ । करिब ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २ समूहमा सुधार हुँदा बाँकी सबै घटेका छन् । समग्रमा हेर्दा बजार सुधार हुने संकेत अहिलेसम्म देखिएको छैन ।

नेप्सेसहित कारोबार रकम पनि सुस्त रहेको छ । किन्ने बित्तिकै भाउ घट्ने प्रवृत्ति देखिएको भन्दै लगानीकर्ताले सामाजिक सञ्जालहरुमा गुनासो पोखिरहेको देखिन्छ । ठूला र संस्थागत लगानीकर्ता सुस्त रहँदा बजार माथि जान सकेको छैन ।

करिब २७ महिनादेखि बजार घट्दोक्रममा छ । यसबीचमा ब्याजदर भने ह्वात्तै बढिसकेको छ । एकातिर सेयर मूल्य घट्ने अनि अर्को तिर बैंक ब्याजदर लगभग दोब्बर भएपछि पुराना लगानीकर्ता चर्को मारमा पर्दै आएका छन् । यस्तै, सरकार र नियामकको गलत नीति नियमका कारण बजारमा नयाँ लगानीकर्ता पनि खासै आउन सकेका छैनन् । बजार सधैं घटेकाले नयाँलाई कन्भिन्स गरेर सेयर बजारमा ल्याउन निकै समस्या भएको ब्रोकरहरुको भनाई छ ।

पछिल्ला दिनहरुमा बैंकमा निक्षेप थपिएको छ तर ब्याजदर अझै महँगो रहेकाले कर्जा विस्तार हुन सकेको छैन । कर्जा प्रवाह नभए पनि बैंकहरुले खासै ब्याजदर भने घटाएका छैनन् । तर विस्तारै ब्याज घटाउनेक्रम भने सुरु भएको छ । सेयर बजारमा यसको सकारात्मक प्रभाव देखिन केही समय लाग्ने जानकारहरुको भनाई छ ।