२०८१ जेठ ४ , शुक्रवार

डलरको भाउ फेरि उचाइमा, नेपाललाई कस्तो पर्छ प्रभाव ?

American-Doller

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी डलरको भाउ फेरि उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यसअघि असोज ३० गते पनि यहीं उच्च मूल्यमा पुगेर डलरको भाउ केही घटेको थियो ।  डलरको मूल्यवृद्धि हुनु भनेको भारतीय मुद्रा कमजोर हुँदा सो मुद्रासँग स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा कमजोर हुनु हो ।

 

अमेरिकी डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रसँग गासिएका केही क्षेत्रमा फाइदा देखिए पनि समग्र अर्थतन्त्रमा ठूलो बेफाइदा पुग्ने गर्दछ ।

 

डलरको मूल्य बढ्दा खासगरी रेमिट्यान्स क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा सामान्यतः खाडी मुलुकका मुद्राको भाउ पनि बढ्ने गरेको छ । जसले गर्दा ती मुलुकबाट पठाउने रेमिट्यान्सले धेरै भाउ पाउँछ । आन्तरिक रुपमा लाभ देखिए पनि वैदेशिक मुद्रा बजारमा भने नेपाली मुद्रा कमजोर हुनुलाई फाइदामूलक मानिंदैन ।

अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा झनै नोक्सानी पर्दछ । डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ ।

सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ । एकातर्फ आयातित परिमाण नै बढ्ने अर्कोतर्फ प्रतियुनिट परिमाणको मूल्य नै बढ्दा त्यसले सञ्चित विदेशी मुद्रामै धक्का दिन्छ ।

आयातित वस्तुको मूल्य बढ्दा आन्तरिक महँगी पनि बढ्छ । डलरका कारण पेट्रोलियम पदार्थको मूल्य समेत बढ्दा त समग्र ढुवानी लागत बढ्ने भएकाले सबै वस्तु तथा सेवाको मूल्य बढ्न जान्छ । त्यस्तै विदेशी कच्चा पदार्थमा निर्भर स्वदेशी उत्पादनको भाउ महँगिन्छ । समग्रमा डलर महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी नै बढ्न जान्छ । तसर्थ डलरको मूल्यवृद्धिले नेपालको अर्थतन्त्रमै क्षति पुग्छ ।