२०८१ बैशाख २० , बिहिवार

न्यूरोडको सुन पसलबाट ६० लाखको गहना र कार लिएर ‘सेल्स गर्ल’ स्मारिका जब फरार भइन्…

kathmandu district court

सुनाखरी न्युज/ काठमाडौं।
सुनचाँदी पसलमा सेल्स गर्लको रुपमा काम गर्न राखिएकी एक युवती ६० लाख भन्दाबढीको गरगहना र कार लिएर फरार भएपछि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ।

 

कोलकत्ता घर भएका भारतीय नागरिक बुद्धदेव मैतीको जाहेरीको आधारमा पक्राउ परेकी बोहराविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा चोरीसम्बन्धी मुद्दा दर्ता भएको छ। आफू कलकत्ता गएको बेला पसलको चाबी हराएको भन्दै अर्को चाबी बनाउन लगाएर पसल फोडेर सेफमा राखिएका गरगहना र नगद तथा आफ्नो कार समेत चोरी भएको भन्दै मैतीले प्रहरी वृत्त जनसेवामा जाहेरी दिएका थिए।

बैतडीको सिगास गाउँपालिका–८ घर भई काठमाडौं तारकेश्वर–३ जितपुर बस्दै आएकी २४ वर्षीया युवती स्मारिका बोहरालाई पक्राउ गरेर प्रहरीले चोरी सम्बन्धी मुद्दा चलाएको हो।

न्यूरोडमा रहेको न्यू दीप ज्वेलर्सका मालिक मैती गत वैशाखमा कोलकत्ता गएका बेला उनको पसलमा चोरी भएको थियो। कोलकत्तामा रहेका बेला मैतीलाई आफ्नो पसलका एक कामदारले सटर खोलेर सेफ समेत फोडेर गरगहना तथा नगद लिएर स्मारिका बोहरा भागेको भन्दै जानकारी दिएपछि जाहेरी दिएको मैतीले बताएका थिए।

प्रहरी अनुसन्धानबाट स्मारिकाले चाबी बनाउने मान्छे पसलमा ल्याएर अर्को चाबी बनाउन लगाई सटर खोलेर सेफ समेत फोडेर गरगहना र नगद चोरी गरी लगेको खुलेको छ।

स्मारिकाले नगद र गरगहना गरी ६७ लाख र ४० लाख रुपैयाँ पर्ने मैतीको कार समेत गरी १ करोड ७ लाख रुपैयाँ बराबरको धनमाल लिएर फरार भएको जाहेरी परेपछि प्रहरी वृत्त जनसेवाले करिब १ महिनाअघि स्मारिकालाई पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा स्मारिकाले चोरी गरेको पुष्टि भएपछि उनीविरुद्ध अहिले चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। कार भने चोरी गरेको नदेखिएको र स्मारिकालाई चढ्न दिएका दिएकाले गरगहना मात्रै चोरी भएको निष्कर्ष निकाल्दै ६७ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ।

यता स्मारिकाले भने आफूले चोरी नरेको दाबी गर्दै प्रहरीसमक्ष बयान दिएकी छिन्। भारतीय नागरिक मैतीसँग आफ्नो विवाह समेत भएको र पछि कुटपिट गर्न थालेपछि बस्न नसक्ने भएर जिल्ला अदालत काठमाडौंमा डिभोर्सको मुद्दा समेत हालेको बताएकी छिन्।