२०८१ बैशाख १५ , शनिवार

तेस्रो जलरङ अन्तर्राष्ट्रिय महोत्सव काठमाडौँमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । तेस्रो जलरङ अन्तर्राष्ट्रिय महोत्सव आगामी मङ्सिर १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा गरिने भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाजले आयोजना गर्ने महोत्सवमा नेपाल, भारत, चीन, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, दक्षिण अफ्रिका, म्यान्मार, अमेरिका, फिलिपिन्स, इन्डोनेसिया, हङ्कङ, इरानलगायत ४० मुलुकका करिब तीन सय कलाकार सहभागी हुनेछन् ।

महोत्सवमा कलाकृति प्रदर्शनीका साथै कार्यशाला गोष्ठी गरिने समाजका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा जलरङको प्रयोग गरी सिर्जना गरिएका चराचुरुङ्गी, रहनसहन, संस्कृतिका विभिन्न पक्ष प्रस्तुत भएका कलात्मक कृति तथा प्रकृतिका सुन्दर दुश्यदेखि मानव आकृतिका विम्ब, भगवानका अनेक रुप, भावनालाई उतारिएका चित्रकला सङ्कलन गरिने छन् ।

अध्यक्ष गुरुङले महोत्सव अवधिमा काठमाडौँ उपत्यकाका तीन वटै दरबार क्षेत्रमा कार्यशाला गरी कला सिर्जना गरिने जानकारी दिनुभयो । कलाकारको सिर्जनालाई प्रदर्शन गर्ने मौका दिएर देश–विदेशका कलाप्रेमीसम्म कला पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँको भनाइ थियो ।

“महोत्सवमा अन्तर्राष्ट्रिय तहमा विकास भएका कला, कौशलता तथा क्षमता विकासमा कलाकारबीच अनुभव आदानप्रदान गरिने छ”, गुरुङले भन्नुभयो, “महोत्सवमा राखिने कला कृति ग्राहकले पछि कलाकारलाई सम्पर्क गरी किन्न सकिने व्यवस्था गरिएको छ ।”

समाजले भर्चुअल कला प्रदर्शनी, अनलाइन कला प्रदर्शनमार्फत विभिन्न देशका कलाकारले लकडाउनमा गरेका सिर्जनालाई देखाउने तथा प्रचारप्रसार गर्ने गर्दै आएको छ । करिब एक सय देशमा सञ्जाल विस्तार गरेको छ । प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रो हुने कलाकारलाई क्रमशः तीन सय, दुईसय र एक सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । रासस