२०८१ बैशाख २४ , सोमवार

सिंगापुरले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं ।
ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रमा नेपालले  सिंगापुरविरुद्धको खेल जित्न १ सय ४६ रनको लक्ष्य पाएको छ । सिंगापुरले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४५ रन बनाएको हो ।

 

 

खेलको दोस्रो बलमै करण केसीले अरित्र दत्तलाई बोल्ड गरि नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्का ओपनर रन्जन रंगराजनले सर्वाधिक ४६ रन बनाए । उनले ३० बलको इनिङ्समा ९ चौका र १ छक्का प्रहार गरे । रंगराजनले अविनाश बोहराको एकै ओभरमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । गुल्शन झाको बलिङमा मिडअफमा सन्दीप जोराले सानदार क्याच लिएका थिए ।

मनप्रित सिंहले २४ रन बनाए । उनले २६ बल खेली ३ चौका प्रहार गरे । आर्यभिर चौधरीले २६ बलमा ३७ रन बनाए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनी ५ चौका प्रहार गर्दै अन्तिम ओभरमा आउट भए । अक्ष्य पुरी समान १ चौका र १ छक्का प्रहार गरी १३ रनमा अविजित रहे ।

नेपालबाट अविनाश बोहराले ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र गुल्शनले २र२ विकेट लिए । सन्दीपले ४ ओभरमा १८ र गुल्शनले २१ र करणले ३६ रन खर्चे ।

 

नेपालले खेल सुरु हुनु अगाडि दुर्भाग्य बेहोर्नु परेको थियो । दीपेन्द्रसिंह ऐरी अभ्यासका क्रममा घाइते भएका थिए । उनलाई एङकलमा चोट लागेको छ । उनको स्थानमा अन्तिम समयमा विवेक यादवलाई नेपालको प्लेइङ ११ मा समेटिएको थियो ।

विश्वकप एसिया क्षेत्रको छनोटमा ८ राष्ट्र सहभागी छन् । नेपाल र सिंगापुरसहित समूह ‘ए’ मा मलेसिया र ओमान तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत र बहराइन छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलमा पुग्ने दुई टोली जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा प्रवेश पाउने छ ।