२०८१ बैशाख २० , बिहिवार

दसैंमा बाहिरियो ५५ अर्बको नयाँ र सुकिला नोट

New Note

सुनाखरी न्युज/ काठमाडौं ।
दसैंको अवसरमा यस वर्ष केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५५ अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला नोट बाहिरिएका छन् । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला ९पहिले प्रयोगमा आइसकेका० गरी ५५ देखि ६० अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

दसैंको अवसरमा करिब ५५ अर्ब रुपैयाँ बराबर नोट बाहिरिएको राष्ट्र बैंकले प्रकाशन गर्ने चलनचल्तीको मुद्राको विवरणबाट पनि देख्न सकिन्छ । यसअनुसार घटस्थापनाको अघिल्लो दिन (असोज २६) चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब ३३ अर्ब रुपैयाँ थियो । यही कात्तिक ३ सम्म चलनचल्तीमा रहेको मुद्रा बढेर ६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

 

उल्लिखित तथ्यांकले पनि गएको आठ दिन (असोज २६ देखि कात्तिक ३ सम्म)  मा ५५ अर्ब रुपैयाँ नोट बाहिरिएको देखिन्छ । यद्यपि बैंकहरूको सबै विवरण आउन बाँकी रहेकाले दसैंको अवसरमा करिब ६० अर्ब रुपैयाँ बराबर रकम ढुकुटीबाट बाहिरिएको हुन सक्ने राष्ट्र बैंक स्रोतले बताएको छ । उल्लिखित तथ्यांकमा सिक्काको हिसाब हुँदैन । दसैंमा बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले रकम झिक्छन् । यसकारण दसैंमा बाहिरिएको रकमको पूर्ण विवरण आइनसकेको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताए ।

उल्लिखित रकममध्ये केही दसैंमा सटहीमार्फत र बाँकी भुक्तानी (पेमेन्ट)  का लागि बैंक तथा वित्तीय संस्थालाई भुक्तानी दिइएको राष्ट्र बैंकको भनाइ छ ।