२०८१ बैशाख २३ , आइतवार

खसीबोका र च्यांग्रा लक्ष्य अनुसार विकेन, यस्तो छ ब्यापारिको योजना !

Khashi

सुनाखरी न्युज/ काठमाडौं ।
दशैंमा लक्ष्य अनुसार खसीबोका र च्याङग्रा नविकेपछि ब्यापारी चिन्तित बनेका छन् । दसैंको एक सातामा झन्डै डेढ अर्बको खसीबोका र च्यांग्रा बिक्री हुँदा पनि व्यवसायी निराश छन् ।

आपूर्तिको अवस्था सहज हुँदाहुँदै सोचेअनुसार बिक्री नहुँदा खसीबोका र च्यांग्रा मौज्दात तिहारसम्मै रहने उनीहरूको भनाइ छ । गत वर्ष हिले दसैं अर्थात् वर्षातका कारण व्यवसायीले गाउँगाउँबाट खसीबोका ल्याउन सकेका थिएनन् । यसपालि भने सडक र बाटो सहज हुँदा पर्याप्त भित्रियो । मूल्य पनि गत वर्षकै हाराहारीमा निर्धारण भयो । तर व्यापार सोचेअनुसार नभएको काठमाडौं चौपाया खरिद प्र्रालिका अध्यक्ष जनक खड्काले जनाए ।

बिक्री नभएपछि व्यवसायीले खसीबोकाको बिक्री मूल्यसमेत संशोधन गरिरहेका छन् । विगतका वर्षमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने सहुलियत खसीबोका स्टक सकिएलगत्तै निजी व्यवसायीले मूल्य बढाउने गरेका थिए । यसपालि भने मूल्य घटाउने होड चलेको छ । सोचेअनुसार बिक्री नभएपछि कलंकीमा व्यवसायीले मूल्य घटाएर बिक्री गरेको अध्यक्ष खड्काको भनाइ छ ।