२०८१ जेठ ५ , शनिवार

आज महाअष्टमी, कालरात्रिको विशेष पूजा

durga-devi-astami

सुनाखरी न्युज/ काठमाडौं ।

आज नवरात्रको आठौं दिन  महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ ।

शास्त्रसम्मतरूपमा आजको दिन  दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

 

आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लागेको छ ।

यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता  भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।