२०८३ श्रावण २७ , बुधवार

समय मै सचेत बनौं, कतै हामी दुर्घटनाको संघारमा त छैनौं ? 

Capture

किरण गिरी । हाम्रो मुलुक नेपाल अहिले कहाँ छ ? सबैले आ आफ्नो छातीमा हात राखेर आत्मा समिक्षा गरौं त । कतै हामी यो नियतिमा त अगाडि बढिरहेका त छैनौं ?

 

भेनेजुएला, बोलिभिया, इक्वेडर, पेरु, चिली, हंगेरी, रसिया, पाकिस्तानलगायत कतिपय मुलुकमा प्रजातान्त्रिक नेतृत्व आफ्नो पदबाट बलात पदच्युत हुनेदेखि लिएर कतिपय प्रजातान्त्रिक मुलुक हेर्दाहेर्दै निरंकुशतन्त्रमा परिणत भएकोसम्म हामीले देखेका छौं ।
सुरक्षा निकाय, न्यायालय, कर्मचारी संयन्त्र जस्ता राज्यका महत्वपूर्ण निकायप्रति जनताको विश्वास शून्यप्रायः हुनेदेखि बेरोजगारी, गरिबी, असुरक्षा, भ्रष्टाचार, नातावाद/कृपावादजस्ता मिल्दाजुल्दा विषय नै यी मुलुकको संकटका कारण भेटिन्छन । अहिले नेपाल कुन अबस्थामा छ , आफै मनन गरौं । कतै हामी यो नियती सन्मुख त छैनौं । वास्तवमा कुनै प्रजातान्त्रिक मुलुक किन र कसरी राजनीतिक संकट हुँदै निरंकुशतामा परिणत हुन्छ ? भनेर अमेरिकाको येल विश्वविद्यालयका प्राध्यापक प्रोफेसर युआन लिंजले आफ्नो प्राध्यापनको लामो समयसम्म धेरै गहिरो अध्ययन गरे । उनले आफ्नो निष्कर्षसहित सन् १९७८ मा ‘प्रजातान्त्रिक शासनहरूको असफलता’ नामको पुस्तकसमेत प्रकाशित गरे । पुस्तकमा उनले कुनै पनि प्रजातान्त्रिक मुलुक गहिरो राजनीतिक संकट हुँदै निरंकुशतामा परिणत हुनुमा मुख्य भूमिका त्यही मुलुकको प्रजातान्त्रिक नेतृत्वकै हुने बताए ।

 

उनले प्रजातान्त्रिक मुलुक असफलता वा निरंकुशताको खतरामा जाने चारवटा संकेत बताएका छन । ती चारवटा संकेतमध्ये उनले कुनै पनि प्रजातान्त्रिक नेतृत्वले प्रजातान्त्रिक नियम/पद्धतिको विकास नगर्नुलाई खतराको मुख्य संकेत भनेका छन् । उनका अनुसार :- कुनै पनि प्रजातान्त्रिक नेतृत्वले प्रजातन्त्रलाई बलियो र जीवन्त राख्न न्यायालय, निर्वाचन आयोग, सुरक्षालगायत सुशासन कायम गर्न स्थापित निकाय स्वतन्त्र र अराजनीतिक राख्नुपर्छ । यदि यस्ता निकाय स्वतन्त्र रहेनन् भने प्रजातन्त्रमाथि खतराको घन्टी सुरु हुन्छ भन्ने उनले उल्लेख गरेका छन् ।

 

अन्य संकेतमा भने नागरिक समाजप्रतिको अनादर, स्वतन्त्र सञ्चारमाथि धाबा, हिंसालाई प्रश्रयलगायतलाई बताएका छन् । प्रजातान्त्रिक नेतृत्वको गलत निर्णय र व्यवहारले प्रजातन्त्रमा संकट आउने र मुलुकमा राजनीतिक, आर्थिक संकट उत्पन्न भएर निरंकुशता आउन सक्ने उल्लेख गरेका छन । कतै हामी त्यही बाटोमा त गैरहेका त छैनौं ? नेपाली कांग्रेस , नेकपा एमाले , माओवादी पार्टी , रास्वपा , मदेशबादी दलहरू समयमा नै तत्काल सच्चिनु र परिमार्जित हुनु अत्यन्तै जरुरी देखिन्छ । गणतन्त्र नेपाल को भाग्य र भबिस्य संबिधान पक्षधर राजनीतिक दल नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र , मधेश बादी दल , रास्वपा का नेता कार्यकर्ता कै हातमा छ ।
सबैलाई चेतना भया ।
किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।