२०८१ जेठ ५ , शनिवार

“दसैँ दशा नहोस्”

Capture

उत्तम विचार ।
छन्द : तोटक ।
✍️
अति नै महँगो छ बजार छिरूँ
जब किन्नु छ वस्तु म के नतिरूँ ।
छ दसैँ मुखमा परिवार मिली
छ मनाउनु हाड ठुलो ननिली ।।१।

तन भन्छ किनूँ अब वस्त्र नयाँ
मन भन्छ रमूँ नित भोजनमा ।
छ अभाव यहाँ अति व्याप्त अझै
कि त छैन मनुष्य दरिद्र मझैँ ।।२।

जब धाउँछ दूर विदेश भनी
नर बिर्सन पुग्छ स्वदेश अनि ।
धनवान् अनि निर्धन साथ बसून्
किन भोक खपीकन पेट कसून् ।।३।

छ पवित्र दसैँ अति पावन यो
अनमोल छ पर्व यही धन हो ।
हर रीत बडा अनि प्रीत बडा
गर गान मिली नवगीत बडा ।।४।

घर गाउँ सबैतिर मान्न सकौँ
महँगी पर होस् तब धान्न सकौँ ।
दिन हैन सहन्छु ठुलै ऋण होस्
छ दसैँ सबमाझ दशा किन होस् ।।५।