२०८१ बैशाख २४ , सोमवार

सी.जी. ब्रुअरीका कर्मचारीमाथि भएको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण

parishang

सुनाखरी न्युज/ काठमाडौं । सी.जी. ब्रुअरी नेपाल लिमिटेडको व्यवस्थापनका कर्मचारीमाथि भएको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । हाल मुलुकको अर्थतन्त्र निकै चुनौतीपूर्ण एवं गम्भिर अवस्थामा छ ।

समग्र बजार मागमा आएको उच्च कमीका कारण उद्योगी व्यवसायीहरु निकै अप्ठ्यारो अवस्थामा छन् । कतिपय उद्योग व्यवसायहरु बन्द भईसकेका छन् भने कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । समग्र बजार मागमा ७० प्रतिशतसम्म कमी आउँदा उद्योगहरु आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत छन् । चुनौतीपूर्ण अवस्थाका बाबजुद न्यून क्षमतामा भएपनि उद्योग संचालन गरिरहेको अवस्थामा कर्मचारीमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधिले कसैलाई फाइदा नगर्नेतर्फ सचेत बन्न परिसंघ अनुरोध गर्दछ । आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अगाडि बढाई समाधान खोज्न आग्रह गर्दछौं । अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालय तोडफोड गर्नेजस्ता अराजक गतिविधि नगर्न÷नगराउन परिसंघ आग्रह गर्दछ । साथै, सी.जी. ब्रुअरीका कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न समेत परिसंघ माग गर्दछ ।

 

यस्ता गतिविधिहरुलाई निरुत्साहित गरी असल औद्योगिक सम्बन्ध सुनिश्चित गर्न सबै ट्रेड यूनियनहरुलाई समेत परिसंघ आह्वान गर्दछ । हालको विषम परिस्थितीले निरुत्साहत बनिसकेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहन समेत परिसंघ सम्वन्धित निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छ ।