२०८१ जेठ ५ , शनिवार

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य बारे पेकिङ युनियन मेडिकल कलेजले निकाल्यो विज्ञप्ति

narayan-kaji

सुनाखरी न्युज/ काठमाडौं ।

‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे  शुक्रबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (OM)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो।

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठलाई चिकित्सकहरूको निरन्तर निगरानी गर्न मेडिकल आइसियुमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

 

 

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।