२०८२ फाल्गुन ३० , शनिवार

नागढुंगा सुरूङ डिसेम्बर अन्तिमसम्म ब्रेक थ्रु हुने, मुख्य सुरूङ २७७ मिटर खन्न बाँकी

Surung

सुनाखरी न्युज/ काठमाडौं ।

निर्माणाधीन नागढुंगा सुरूङ अब २७७‍.६० मिटर खनेपछि ब्रेक थ्रु हुने भएको छ। आयोजना प्रमुख नवीनमान श्रेष्ठले डिसेम्बरको अन्तिमसम्म सुरूङ ब्रेक थ्रु हुने बताए।

यसअघि सुरूङ निर्माणमा पटक–पटक भौगर्भिक समस्या देखिएका कारण पनि निर्माणमा ढिलाई भएको आयोजनाले बताएको छ। निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन (पहिरो जाने) समस्या देखिएको थियो। बीचमा केही विवादका कारण पनि निर्माणमा अवरोध पुगेको उनले बताए। पछिल्लो पटक स्थानीय विवाद हुँदा केही दिन काम भएन। अहिले भइरहेको छ-उनले भने।

स्थानीय विवादका कारण करिब ८ दिन निर्माणको काम अबरूद्ध बनेको थियो। सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटरमाथि खाडल परेको र आयोजना स्थल नजिकै ११ वटा घरहरू चर्किएका कारण विवाद आएको श्रेष्ठले बताए।

अहिले खाडल परेको ठाउँ विज्ञबाट अनुसन्धान गराउने तथा चर्किएका घरहरूलाई अस्थायी स्थानान्तर गर्ने गरी निर्णय भइसकेको छ। सोही निर्णयपछि रोकिएको काम सुरू भएको हो। अध्ययन गरेर रिपोर्ट तयार गर्न तीन महिना जति लाग्ने श्रेष्ठले बताए।

सुरूङमार्ग निर्माण स्थलमा कसरी खाडल पर्‍यो, कति घरहरू चर्केका छन्, त्यसको कारण पत्ता लगाएर पीडितहरूलाई स्थानान्तरण गरिने श्रेष्ठको भनाइ छ।