२०८१ बैशाख ३१ , सोमवार

नेप्सेमा वृद्धि, कारोबार रकम भने घट्यो

nepse high

सुनाखरी न्युज / काठमाडौं । शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) मा धेरैपछि लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि देखिएको छ । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से ४३.२७ अंकले बढेर १९०७ बिन्दुमा पुगेको छ । मंगलबार पनि नेप्से १३.१८ अंकले बढेको थियो ।

नेप्से बढे पनि कारोबार रकम भने खुम्चिएको छ । मंगलबार एक अर्ब ८४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको हो । नेप्सेका अनुसार आज कारोबार भएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज नेप्सेमा ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच भएको छ ।

 

आशा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारमा सर्किट लाग्दा प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँ पुगेको छ । यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्ठाको प्रतिकित्ता शेयरमूल्य पनि ६२ रुपैयाँले बढेर ६८४ रुपैयाँ कायम भएको छ । तर, बीपीडब्ल्यू लघुवित्तको शेयरमूल्य ४० रुपैयाँ ९० पैसाले घट्दै ८४४ रुपैयाँ १० पैसा कायम भयो । एनआइबीएल समृद्धि फण्ड-२ को शेयरमूल्यमा पनि दोस्रो सर्वाधिक गिरावट हुँदा प्रतिइकाइ मूल्य ७ रुपैयाँ ६ पैसामा सीमित भएको छ ।

 

आज सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै भयो । सो कम्पनीको चार करोड ४६ लाख ४ हजार ९३५ रुपैयाँ ८० पैसा बराबरको शेयर कारोबार भएको हो । शेयरबजार ठोस कारणबिनै लगातार दोस्रो दिन बढेको हो । बैंकहरूले ब्याजदर घटाएको तथा चाडबाड लागेकाले लगानीकर्ता केन्द्रित हुँदा बजार बढेको तर्क कारोबारीहरूले गरेका छन्‌ । आजै नेपाल धितोपत्र बोर्डले ब्रोकर कमीशन घटाउने निर्णय पनि गरेको थियो ।