२०८१ जेठ ३ , बिहिवार

नेपाल स्टार्टअप फेस्ट २०२३ आगामी डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमती

Capture

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ ।

मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारी समेत गरेको छ । एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्वीटी, टीम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआइबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो । यी कम्पनीहरुसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ ।

 

सोही कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको को अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेष्ट (GROWTH X Everest) को पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दिक्षित पनि गरिएको छ । ग्रोथएक्स एभरेष्टको पहिलो ब्याजका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो । बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी टे«डिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम दिइएको थियो । तालिम प्राप्त गरेका मध्ये ६ वटा स्टार्टअप कम्पनीहरुले उल्लेखित ११ वटा लगानी कम्पनीसमक्ष आफ्नो नविन सोंचका बारेमा प्रस्तुतीकरण समेत गरेका छन् । ११ वटा कम्पनीले ती स्टार्टअपमा गर्ने लगानीको विषयमा छिट्टै घोषणा गर्नेछन् । सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा. तोय नारायण ज्ञवाली, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव जीवलाल भुसाल सहभागी भई स्टार्टअपहरुलाई हौसला प्रदान गर्नुभएको थियो ।

 

नेपाल स्टार्टअप फेस्ट २०२३ घोषणा गर्न आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको स्टार्टअप इकोसिस्टम राम्रो सुरुवात भएको बताउनुभयो । स्टार्टअपहरूले आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति बन्ने सम्भावना राखेको भन्नुहुँदै नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च स्टार्टअपहरुका चुनौतीको सामना गर्न पूर्ण रुपमा सघाउन तयार रहेको उहाँले बताउनुभयो । मञ्चका अध्यक्ष अनुराग गोयलले पहिलो संस्करणको अपार सफलतासँगै दोस्रो संस्करण घोषणा गरिएको बताउनुभयो । युवाहरुबाट युवाहरु तथा देशमा स्टार्टअपहरुलाई प्रोत्साहन गर्न आफूहरुले जनाएको प्रतिबद्धता अनुरुप फेस्ट आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।