२०८१ जेठ ३ , बिहिवार

सर्वसाधारणको दर्शनका लागि त्रिशूली देवी मन्दिर खुला

Capture

सुनाखरी न्युज/ काठमाडौँ । बडादसैँको अवसर पारेर महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।

प्रत्येक वर्ष असोज र चैतको दसैँका बेला गरी दुईपटक मात्रै खोलिने गरेको यस मन्दिर आज बडादसैँ सुरु भएसँगै त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।

वर्षमा मात्र दुईपटक खुला गरिने यस मन्दिरमा बिहान ४:०० बजेदेखि नै पूजाअर्चना गर्ने दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर वर्षभरि खोलिदैन भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । असोज र चैतको दसैँमा पुजारीले विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो ।

जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवीको महोत्तरी, धनुषा, सिरहा र सर्लाहीलगायत भारतको सीतामढी तथा मधुवनीमा निकै प्रख्यात रहेको छ । यी जिल्ला तथा भारतका विभिन्न ठाउँबाट त्रिशूलीदेवी मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

दसैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजन पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यसैले दसँैभरि त्रिशूलीदेवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौँको भेटी र प्रसाद चढाइने गरिन्छ । त्रिशुली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा दुईपटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ । रासस