२०८१ जेठ ५ , शनिवार

कपन क्षेत्रमाखोला उत्खनन्को बाँकी काम प्राधिकरणले गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं । गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौँ उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ ।

चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भचोक सम्मको खोला उत्खनन्को काम काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गरिएको थियो । आरम्भचोकसम्म खोलिएको खोलालाई त्यसमाथिको भागमा खोलेर आरसिसी ढलान गर्ने कामका लागि प्राधिकरणले ठेक्का गरी काम अघि बढाएको छ । यसका लागि प्राधिकरणले रु २३ करोडको ठेक्का गरेको हो । ड्रागन आरबि कम्पनीले ठेक्का पाएर काम अघि बढाउन लागेको महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाले राससलाई जानकारी दिनुभयो ।

प्राधिकरणले ठेक्का गरेर काम अघि बढाएपछि महानगरपालिकाले आरम्भ चोकमै यो काम छोडेको छ । खोला छुट्याउने कामसँगै आरम्भचोकसम्म जग्गाको नापजाँच पनि गरिएको छ । काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर सडक बनाई घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र चाहिलको सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको थियो । आरम्भचोकसम्म खोला खोलेपछि असोज दोस्रो साता भएको वर्षाद्मा आएको बाढीले कपन क्षेत्र डुबानमा नपरेको पनि वडा अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यसबाट स्थानीयवासी खुसी हुनुका साथै यज्ञडोलसम्म नै खोला खोलेर खुला बनाउनुपर्ने आवाज उठाउन थालेका छन् । केही जग्गा व्यवसायीको स्वार्थमा खोला पुर्ने कामले समस्यामा परेको बुझेपछि अहिले स्थानीयवासी खोला खोल्नुपर्ने अभियानमा एकबद्ध भएको स्थानीयवासी चुडामणि कोइरालाले बताउनुभयो । महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको थियो । तर बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । खोलाको दायाँबायाँ चार÷चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भएपनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पूर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताउनुहुन्छ ।

 

यसका लागि प्राधिकरणसँग पनि समन्वय गरेर काम गर्न लागिएको उहाँले सुनाउनुभयो । नापजाँच गरेर आएको पर्ती जग्गामा महानगरले आकर्षक बगैँचा बनाएर खुला क्षेत्रका रुपमा स्थापित गर्ने जनाइएको छ । यसरी बनेको खुला क्षेत्र भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने वडा कार्यालयले जनाएको छ ।रासस