२०८१ बैशाख १५ , शनिवार

बैंकहरुको निक्षेप सवा खर्बले बढ्दा कर्जा लगानी ३५ अर्ब मात्रै बढ्यो

Bank

सुनाखरी न्युज/ काठमाडौं ।
बैंकहरुको निक्षेप असोज महिनामा  सावा खर्बले बढेको छ । यस्तै कर्जा लगानी भने ३५ अर्ब रुपैयाँले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा बैंकहरुको कर्जा लगानीभन्दा निक्षेप संकलन करिब ८० अर्ब रुपैयाँले धेरै छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत भदौ मशान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ५७ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। सो निक्षेप असोज २० गतेसम्ममा ५८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। भदौ अन्तिमसम्ममा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ५० खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा हाल यस्तो निक्षेप ५१ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।

सरकारले स्थानीय तहको पैसालाई निक्षेपको रुपमा गणना गर्न दिएको कारण पनि बैंकहरुमा निक्षेप उच्च दरमा बढेको हो। बैंकहरुको कर्जा लगानी भने त्यति धेरै बढ्न सकेको छैन। असोज महिनाको पहिलो ३ सातामा समग्र बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३५ अर्बले बढेको छ।

भदौ अन्तिम सम्ममा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। असोज २० गतेसम्ममा यस्तो कर्जा लगानी ४९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। भदौसम्ममा वाणिज्य बैंकहरुले मात्रै ४३ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।

असोज २० गतेसम्ममा वाणिज्य बैंकहरुको कर्जा लगानी ४३ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुमा निक्षेप बढिरहेको भए पनि कर्जाको माग त्यति धेरै छैन। हालसम्म कर्जा लगानी न्यून नै रहेको देखिन्छ।

लगानीयोग्य रकम बढ्दै जाँदा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९सिडि रेशियो० ८१ प्रतिशतमा झरिसकेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार भदौ २१ गतेसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८१.७४ प्रतिशत रहेको छ। यस आधारमा अहिलेको निक्षेपलाई आधार मानेर हेर्ने हो भने बैंकहरुसँग ४ खर्ब ८२ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ।