२०८१ बैशाख २० , बिहिवार

काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो ।

बिहीवारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौँ विद्यश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले दाबी गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले आफूहरुले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेका बताउनुभयो । उहाँले रैथाने कला, परम्परागत कला, ज्ञान र सीपलाई जोडेर अगाडि बढ्ने प्रयास गरेको बताउनुभयो । उहाँका अनुसार उक्त कोर्स चार वर्षे रहेको छ । उहाँका अनुसार बीस विद्यार्थी यसपालि भर्ना भएका छन् ।

कक्षा शुभारम्भका क्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँ विश्वविद्यालयले शिल्पकलाको पठनपाठन सुरु गरेर कला क्षेत्रको विकासमा योगदान दिएको छ भन्नुभयो । उहाँले प्रदेश सरकारले पनि कलाको विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसद्मा टेबल गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प तथा डिजाइन कलामा स्नातक पठाइ सुरु हुनु ललितकला क्षेत्रकै लागि उपलब्धिको कुरा भएको उल्लेख गर्दै यसले ललितकलाको शिर उँचो हुने छ भन्नुभयो । उहाँले ललितकला विकासका लागि प्रतिष्ठानले कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिरहेका बेला प्राज्ञिक क्षेत्रमै परम्परागत कलाको शिक्षा प्रदान हुनु महत्वपूर्ण भएको बताउनुभयो । रासस