२०८१ बैशाख २० , बिहिवार

बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । आर्थिक अभावका बीचमा गुज्रिएको बहिरा विद्यार्थी मात्रै अध्ययन गर्ने तनहुँको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ ।

व्यास नगरपालिका–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयलाई सांसद डा स्वर्णिम वाग्लेको पहलमा रु एक लाख सहयोग गरिएको हो ।

रु तीन लाख उपलब्ध गराउने प्रतिबद्धताबमोजिम पहिलो चरणमा निक फाउण्डेशनमार्फत विद्यालयलाई रु एक लाख बिहीबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्व बास्तोला, सूर्यमणि पौडेललगायतले उक्त रकमको चेक बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको छ । केही समय अगाडि सांसद वाग्लेसँगका भेटमा विद्यालयलाई आर्थिक सङ्कट भएकोबारेमा जानकारी गराइएको थियो ।

कक्षा १ देखि ५ सम्म सञ्चालित उक्त विद्यालयमा २८ बहिरा विद्यार्थी अध्ययनरत छन् । तीमध्ये नौ छात्रा र १९ छात्र छन् । कक्षा १ मा पाँच छात्रा र सात छात्र, कक्षा २ मा एक छात्रा र चार छात्र, कक्षा ३ मा चार छात्र, कक्षा ४ मा दुई छात्रा र एक छात्र र कक्षा ५ मा एक छात्रा र तीन छात्र अध्ययनरत छन् । ती विद्यार्थी बस्नका लागि विद्यालय आडैमा आवासगृह भवन निर्माण गरिएको छ ।

आर्थिक स्रोत नहुँदा विद्यालय सङ्कटमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेत बताउनुभयो । तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासीका ती विद्यार्थी उक्त विद्यालयमा आवासीयरुपमा बसेर अध्ययन गर्दै आएका छन् । ती विद्यार्थीलाई बस्ने, खाने व्यवस्था सरकारले गर्दै आएको छ । तर पनि विद्यालयलाई आर्थिक समस्या पर्दै आएको छ ।

विसं २०६५ मा प्रतिविद्यार्थी रु चार हजार दिने गरिएकामा हालसम्म पनि रकम वृद्धि नहुँदा समस्या हुँदै आएको बस्नेले बताउनुभयो । उहाँले भन्नुभयो, “१४ वर्ष पहिला जति रकम विद्यार्थीका लागि दिइन्थ्यो, अहिलेसम्म पनि सोही रकम हुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । जसोतसो व्यवस्थापन गर्नुको विकल्प पनि छैन ।”

सरकारले बहिरा विद्यार्थीका लागि मासिक प्रतिविद्यार्थी रु चार हजारका दरले रकम उपलब्ध गराउने गरेको छ । उक्त रकमबाट विद्यार्थीका लागि खाना, पोसाक, सरसफाइ, टेलिभिजन, इन्टरनेट, बिजुली, पानीको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । “१४ वर्षसम्म एउटै रकम हुँदा अप्ठ्यारो छ, सरसामानको मूल्यवृद्धि छ”, बस्नेतले भन्नुभयो, “हाल विद्यालयको मुख्य समस्या नै यहीँ हो । त्यति न्यून रकममा विद्यार्थी व्यवस्थापन गर्नुपरेको छ ।”

यस विषयमा सरोकारवाला निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बस्नेतको गुनासो छ । “राज्यले यो समस्या समाधानमा ध्यानै दिएन, धेरै पटक सरोकारवाला निकाय गुहारिसक्याँै, कतैबाट सम्बोधन हुँदैन”, बस्नेतले भन्नुभयो ।

छ वर्ष अगाडि पाहार ट्रष्ट नेपाल नामक संस्थाले आवास गृह भवन निर्माण गरिदिएको थियो । उक्त भवनमा ४० जनासम्म विद्यार्थी राख्न सकिने विद्यालयका प्रधानाध्यापक भैरव पन्थले जानकारी दिनुभयो ।

लागि दश महिनाबापतको रकम विद्यालयमा आउँछ । सोही रकमबाट विद्यार्थीको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । महिनामा दुई पटक मासु र हप्तामा एक पटक अण्डाको व्यवस्था गरिएको छ । विद्यालयमा भौतिक सुविधा राम्रो रहे पनि विद्यार्थीको आर्थिक पाटोका कारण समस्या हुने गरेको प्रधानाध्यापक पन्थको भनाइ छ ।

व्यास नगरपालिका–१ का वडासदस्यसमेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले यस विषयमा स्थानीय सरकार व्यास नगरपालिकामा कुरा उठाउने गरेपनि सम्बोधन नभएको गुनासो गर्नुहुन्छ । “म आफँै स्थानीय सरकारको प्रतिनिधित्व हुँ, नगरप्रमुखसँग यस विषयमा धेरै पटक कुरा गरिसकेँ, सुनुवाइ हुँदैन”, बस्नेतले भन्नुभयो, “भवन निर्माण, भान्साकोठा व्यवस्थापनका लागि पनि नगरपालिकाको तर्फबाट बजेट आउँछ ।” यही वर्ष व्यास नगरपालिकाको रु तीन लाख सहयोगमा भान्साकोठा निर्माण गरिएको छ ।

कक्षा ५ उत्तीर्ण भएपछि यहाँका विद्यार्थी पोखरा, गोरखा, बागलुङ जाने गरेका छन् । गत शैक्षिक शत्रमा यहाँबाट तीन जना विद्यार्थी अन्यत्र गएका छन् । विद्यालयमा बहिरा विद्यार्थीलाई अध्यापन गराउनका लागि प्रधानाध्यापकसहित पाँच जना शिक्षक छन् । त्यसमध्ये दुई जना पूर्ण बहिरा, एक जना आंशिक बहिरा र एक जना दोभाषे शिक्षक कार्यरत छन् । शिक्षकमध्ये एक जना स्थायी रहेको र बाँकी चार जना करारमा रहेको विद्यालयले जनाएको छ ।

त्यस्तै विद्यालयमा चार जना सहयोगी कर्मचारी छन् । ती कर्मचारीको मासिक तलब पनि न्यून छ । मासिक रु १३ हजार चार सय ५० तलबमा उनीहरुले काम गर्दै आएका छन् ।

विसंं २०५२ सालमा खरीस्वाँरा प्राथमिक विद्यालयको रुपमा सञ्चालित विद्यालयलाई विसं २०५२ मा स्थानीय मिश्र परिवारले एक रोपनी जग्गा दिएपछि उक्त विद्यालय गङ्गादत्त प्राविमा रुपान्तरण भएको थियो । सोही ठाउँका खड्गबहादुर दाहाल र सीता दाहालले माइला छोरा स्व बुद्धसागर दाहालको स्मृतिमा विद्यालय भवन निर्माणका लागि विसं २०५६ मा जग्गा दान दिनुभएको थियो । स्व दाहाल भारतीय सेनामा रहँदा विसं २०५५ फागुन ११ गते जागिरकै सिलसिलामा मृत्यु भएको थियो । दाहाल परिवारले छोराको स्मृतिमा एक रोपनी आठ आना जग्गा र रु दश लाख सहयोग गरेको थियो ।

त्यतिबेला वुद्ध दाहाल प्राथमिक विद्यालयको रुपमा सञ्चालित यस विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि विसं २०७१ मा जलदेवी माध्यमिक विद्यालयमा मर्ज भएको थियो । जलदेवी माध्यमिक विद्यालयमा चार वटा स्रोत केन्द्रमार्फत बहिरा विद्यार्थी अध्ययन गर्दै आएका थिए । विसं २०७४ असारबाट भने वुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयको रुपमा हालसम्म सञ्चालित छ ।

रासस