२०८१ बैशाख २३ , आइतवार

गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ ।

अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

“प्रहरीले हत्या आरोपमा एकजना सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो”, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले भन्नुभयो । बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका उहाँले बताउनुभयो । अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको प्रहरी उपरीक्षक ढुङ्गेलले जानकारी दिनुभयो ।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले प्रतिवेदन आइपुगेको र कार्यालयले अध्ययन गरिरहेको जानकारी दिनुभयो । अध्ययनपछि अभियोजन दर्ता हुने उहाँको भनाइ थियो । “प्रहरीले भने उनलाई जन्म कैदको सजाय माग दाबी लिनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ”, उहाँले भन्नुभयो ।

आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको पनि हत्या गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो ।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौँ महानगरपालिका–३२ तीनकुने नजिक गैरीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो । रासस