२०८१ जेठ ५ , शनिवार

१९०० विन्दुमुनि झर्‍यो नेप्से, कारोबार रकम पनि खुम्चियो

Share

सुनाखरी न्युज/ कठमाडौं ।

नेप्से साढे ५ महिनापछि १९०० को विन्दुबाट तल झरेको छ ।  यसअघि ८ जेठ २०८० मा नेप्से १८९१.३१ को विन्दुमा बन्द भएको थियो भने ७ जेठमा १८८३.२० को विन्दुमा बन्द भएको थियो ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड बनाएको थियो ।

राष्ट्र बैंकले उक्त सीमा बढाए पनि सेयर लगानीकर्तामा भने त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा १८८९.५९ को विन्दुमा झरेको छ ।

 

राष्ट्र बैंकले १२ करोडको सीमा बढाउनुअघि गत बिहीबार नेप्से १९५६.९२ को विन्दुमा बन्द भएको थियो । बिहीबार साँझ १२ करोडको सीमा हटाएपछि आइतबार नेप्से ३५.६७ अंकले गिरावट हुँदा सोमबार १२।५८ अंकले गिरावट भएको थियो ।

मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक १.७९ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक १।६९ प्रतिशतले गिरावट भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक पनि १.५८ प्रतिशतले गिरावट भएको छ ।

 

नेप्सेमा गिरावट भएपनि कारोबारमा भने सोमबार भन्दा केही सुधार भएको छ । आइतबार १ अर्ब ८० करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब १७ करोडमा सीमित भएको थियो । मंगलबार भने कारोबार रकम बढेर १ अर्ब २८ करोड ३२ लाख पुगेको हो । मंगलबार नेप्सेमा ४४ हजार ६९ वटा कारोबारमा ४२ लाख ८७ हजार ४२४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।