२०८१ जेठ ६ , आइतवार

चिरख्वा हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

IPO

सुनाखरी न्युज/ काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज असोज २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ। कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ।

लगानीकर्ताले यो आईपीओमा यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। चिरख्वा हाइड्रोपावरको आईपीओ निष्कासन बन्द छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।