२०८१ जेठ ४ , शुक्रवार

इजरायलमा भएकाे नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा, सार्वजनिक बिदा छैन

सुनाखरी न्युज/ काठमाडौं ।इजरायलमा आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।

मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् । स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो । तर, निर्णय भएन । मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।
यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।