२०८१ बैशाख २६ , बुधवार

गाेविन्द केसीलाई उचालेर मेडिकल कलेजहरू ध्वस्त पार्दै विद्यार्थी विदेश पठाउने गिराेह सक्रीयः अन्सारी

Capture

सुनाखरी न्युज/ काठमाडौं । मेडिकल व्यवसायी बसरुद्धिन अन्सारीले डाक्टर गोविन्द केसीको आन्दोलनका कारण नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवामा धेरै असर गरेको बताएका छन् । नेशनल मेडिकल कलेज तथा नेपाल मेडिकल कलेजका सञ्चालक अन्सारीले नेपालको मेडिकल कलेज ध्वस्त पारेर नेपाली विद्यार्थीहरुलाई विदेश पठाउने गिरोहको सड्यन्त्रमा डा. केसी परेको पनि बताए । ‘डाक्टर गाेविन्द केसीले एक दुइ वटा राम्रा काम गरेपनि उनलाइ उचालेर नेपाली मेडिकल कलेज ध्वस्त पार्दै नेपाली विद्यार्थी विदेश पठाउन गिराेह लागेकाे छ ।’ अन्सारीले भने ।

नीजि क्षेत्रले देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएपनि राज्यले कदर नगरेको गुनासो गरे । राज्यले लगानी गरेका सबै उद्योग कलकारखाना धमाधम बन्द भइरहेको जिकीर गर्दै नीजि क्षेत्रको लगानी र व्यवस्थापनकै कारण अर्थतन्त्र चलायमान भएको समेत बताए । ‘एसियाकै टप विरगञ्जको चिनी कारखाना नीजि क्षेत्रले बन्द गरेको हो ? जनकपुरको चुरोट कारखाना नीजि क्षेत्रले बन्द गरेको हो ? शाही औषधी कसले बन्द गरायो ?’ सरकारले चलाएका संस्थाहरु बन्द हुनुमा नीजि क्षेत्रको कुनै भूमिका नरहेको प्रष्ट पार्दै अन्सारीले अब पब्लिक, प्राइभेट पार्टनरसिपमा जानुपर्ने बताए ।

सरकारी कलेज, अस्पतालहरु राम्ररी चलाए नीजि कलेज र अस्पताल आफैं बन्द भएर जाने बताउँदै अन्सारीले नीजि क्षेत्र नभएको भए देश डुबिसक्ने दावी गरे । ‘आरएनएसीको अहिले के हालत छ ? विर अस्पतालमा ३ महिनामा पालो आउँदैन, मनमोहनमा उपचार गर्न पालो पाइन्न । यदी सरकारी कलेज अस्पताल राम्ररी चलाईदियो भने नीजि क्षेत्र आफैं बन्द भएर जान्छन् ।’ अन्सारीले भने । मेडिकल शिक्षा नेपालमा चाहिँदैन भन्नेहरुले नेपालबाट वर्षेनी नेपाली युवाहरुलाई अरबौं खर्च गरेर विदेश जानुपर्ने बाध्यता सृजना गरिरहेको तर्क गरे ।

नेपाललाई हेल्थ र मेडिकल एजुकेशनकाे हब बनाउन सकिने बताउँदै अन्सारीले मेडिकल कलेजहरूले स्वास्थ्य सेवा, मेडिकल शिक्षा र राजगारीमा याेगदान पुर्याएपनि राज्यले कुनै पनि सेवा र छुटहरू नदिएकाे जिकीर गरे । अन्य क्षेत्रले विभिन्न छुट र सेवाहरू राज्यबाट पाएपनि मेडिकल कलेजहरूले पुर्याएकाे याेगदानकाे समेत राज्यले कदर नगरेकाेमा गुनासाे गरे ।

विश्वका सबै मुलुक सरकारीसँगै नीजि क्षेत्रको लगानीका कारण अगाडी बढेको बताउँदै सरकारले नीजि क्षेत्रलाई सधैं दुखः दिने काम मात्र गरेको बताए । राजनीतिमा रहेकाहरुले देशका लागि केही गर्न नसकेको भन्दै सत्तामा जो आएपनि नीजि क्षेत्रलाई दुखः दिने कार्य गरेकोमा गुनासो गरे । सरकारले जे गरेपनि हुने तर, नीजि क्षेत्रले राज्यलाई अरबौं कर तिरेर पनि सुख नपाएको जनाए । ‘जसले गरिरहेको छ, त्यसलाई संरक्षण नगर्ने अनी खाली क्रिटिसाइज मात्र गर्ने ? यस्तो कार्यले देशको विकास हुँदैन ।’ उनले भने ।

पछिल्लो समय केही ब्यापारिक क्षेत्रका व्यक्तिहरु राजनीतिमा लागेपनि देखि नसहेको बताए । वर्षौंदेखि राजनीतिमा लागेकाहरुले व्यापारीहरु राजनीतिमा आउँदा चारैतिरबाट प्रहार भइरहेकोमा आपत्ति जनाए । ‘व्यापारीलाई कुनैपनि हालतमा मन्त्री बन्न नदिने, राजनीतिमा आउन नदिने, व्यापारीले चन्दा मात्रै दिनुपर्ने, नेताहरुमात्रै पालिरहनु पर्ने हाे ? ब्यापारीहरु नेताहरुको खुट्टा मुनी मात्र बसिरहनु पर्ने हाे ? ब्यापारीले गरेको योगदानको कदर नगर्ने ?’ नेपालको संविधान र मुलुकी ऐनले दिएको अधिकार प्रयोग गर्न कसैले रोक्न नपाउने भन्दै अन्सारीले जसले जे भनेपनि मुलुकको लागि काम गर्न सक्रिय भएर लाग्ने जनाए ।
रासस